जनसम्पर्क सुदृढीकरण गर्न कांग्रेस प्रवक्ता डा. महतको आह्वान

 जनसम्पर्क सुदृढीकरण गर्न कांग्रेस प्रवक्ता डा. महतको आह्वान

बेल्जियम । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले युरोपभरि जनसम्पर्क समितिलाई सक्रिय बनाउन जरुरी रहेको बताएका छन्।

नेपाली जनसम्पर्क समिति बेल्जियमले आयाेजना गरेकाे युरोपभरिका जनसम्पर्क समितिका प्रतिनिधि साथीहरुको भेलामा प्रमुख अतिथिकाेरुपमा मन्तव्य राख्दै डा. महतले बेल्जियम युरोपको केन्द्रबिन्दुमा रहेको र धेरै प्रतिबद्ध साथीहरू सक्रिय रहेकाले बेल्जियम समितिको भूमिका युराेपमा अत्यन्त महत्वपूर्ण रहेको बताएका छन्।

युरोपका विभिन्न जनसम्पर्क समितिहरूलाई थप क्रियाशील बनाउनुपर्ने आवश्यकता औँल्याउँदै उनले आफू पूर्वी युरोप (रोमानिया, क्रोएसिया, हंगेरी, अल्बानिया, बुल्गेरिया) मा जाँदा ठूलो संख्यामा नेपालीहरू रहेको र ती ठाउँमा जनसम्पर्क समिति विस्तार गर्न जरुरी भएको बताए।

जहाँ पहिलेदेखि जनसम्पर्क समिति छ र नेपालीहरूको पहिलो पुस्ताबाट दोस्रो पुस्तामा प्रवेश गरेका छन्, ती देशहरूमा समितिहरूलाई थप सक्रिय गर्नुपर्ने आवश्यकता रहेकोमा उनले जोड दिए। उनले डेनमार्कमा देखिएको समस्या समाधान भई संगठन निर्माण र जनसम्पर्क समितिको उपस्थितिलाई विस्तार गर्ने तथा एकीकृत गर्ने दिशामा जानुपर्नेमा जाेड दिए।

उनले युरोप, अमेरिका, मध्यपूर्व र दक्षिण पूर्व एसियामा ठूलो संख्यामा नेपालीहरू बस्ने भएकाले अब नेपालको राजनीतिलाई मात्र हेरेर नपुग्ने बताए। पार्टीहरूले नेपालबाहिर पनि नेपाल छ भन्ने कुरा आत्मसात गर्न जरुरी रहेको र नेपाली कांग्रेसले यसलाई आत्मसात गरिरहेको उनको भनाइ थियो।

विदेशमा बस्ने नेपालीहरूको नेपालसँग प्रत्यक्ष सम्बन्ध, परिवार, नातागोता र प्रभाव भएकाले उनीहरूको चासो र चिन्तालाई सम्बोधन नगरे निर्वाचनमा त्यसको प्रभाव पर्ने सक्ने कुरामा उनकाे जोड थियो।

सामाजिक सञ्जालको प्रभाव र विदेशमा बस्ने नेपालीहरूको निर्णयले नेपालमा बस्ने परिवारका सदस्यहरूको मतलाई प्रभावित गर्ने हुँदा पार्टीले विदेशमा बस्ने नेपालीहरूलाई विशेष रूपमा हेर्न जरुरी रहेको डा. महतकाे भनाइ थियाे।

डा. महतले विदेशमा बस्ने नेपालीहरूको विषयमा निर्णायक कुरा गर्ने पार्टी नेपाली कांग्रेस नै भएको बताएका छन्। गैरआवासीय नेपाली नागरिकता: संविधान सभाको दुवै कार्यकालमा आफू मस्यौदा समितिको सदस्य हुँदा राजनीतिक अधिकारबाहेक आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार गैरआवासीय नेपालीहरूलाई दिन धेरै कठिन भएको तर नेपाली कांग्रेसले नै त्यसको नेतृत्व गरेको स्मरण गराए। उनले कानुन बन्न ढिलाइ भएको स्वीकार गर्दै, कानुन बनेपछि राजनीतिक अधिकार बाहेकका सम्पूर्ण अधिकार सुरक्षित हुने बताए।

उनले व्यक्तिगत रुपमा दोहोरो नागरिकताको पक्षमा रहेको र यसबाट नेपाललाई घाटा नहुने विश्वास व्यक्त गरे। यसले नेपालीहरूलाई नेपालसँग जोडिरहने थप आधार दिने उनको तर्क थियो। यद्यपि, यसका लागि देश भित्रका विभिन्न सरोकारवालालाई बुझाउन समय लाग्ने तर ढिलो चाँडो यो कार्यान्वयन हुनेमा उनी विश्वास थियाे।

नेपाली कांग्रेसले नागरिक अधिकार, विधिको शासन, र जनताको अनुमति बिना सत्तामा जान नपाउने जस्ता नीतिहरू स्थापित गरेको उनले बताए। आर्थिक रुपान्तरण र लगानीको नेतृत्व पनि कांग्रेसले नै गरेको उनले उल्लेख गरे।

पार्टीको समस्या नीति सिद्धान्तमा नभई संगठनमा रहेको उनले बताए। व्यक्तिवादी प्रवृत्ति र एक-अर्कालाई फसाउन ऊर्जा खर्च गर्ने प्रवृत्ति प्रमुख समस्या रहेको औंल्याउदै डा. महतले पार्टीको आधिकारिक निर्णयलाई लिएर अघि बढ्नुपर्नेमा जोड दिए।

साे अवसरमा डा.महतले नयाँ पुस्तालाई नेपालसँग र पार्टीसँग जोड्न युवा कमिटीहरू बनाएर अभियान चलाउनु पर्नेमा जोड दिए।

अधिवेशनहरू समयमै सम्पन्न गरेर नयाँ नेतृत्वलाई अवसर दिनुपर्नेमा पनि उनकाे जोड थियाे। उनले आफूले व्यक्त गरेका कुराहरू व्यक्तिगत वा गुटगत नभई पार्टीलाई मजबुत बनाउने र पार्टीका समस्या समाधान गर्नेतर्फ केन्द्रित रहेको स्पष्ट पारे।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *