गठबन्धन ०८४ सम्म यही, अस्थिरताको हल्ला निरर्थक : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्रीले प्रतिनिधिसभामा सम्बोधन गर्दै सरकारको स्थिरता, नीतिगत स्पष्टता र अर्थतन्त्रको पुनर्जीवनका लागि सरकार दृढ रहेको बताउनुभएको छ। उहाँले भन्नुभएको छ, “अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी ०८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ।”
प्रधानमन्त्रीले स्मरण दिलाउनुभएको छ कि सरकारमा आउँदा नै विथोलिएको राजनीतिलाई लयमा फर्काउने, शिथिल अर्थतन्त्रलाई गतिशील बनाउने र असार्वभौमिक योजनाहरू खारेज गर्ने संकल्प गर्नुभएको थियो। तर संसद् र सार्वजनिक बहसलाई वास्तविक एजेन्डाबाट हटाएर सोसल मिडियाका लागि ‘कन्टेन्ट’ उत्पादन गर्ने थलो बनाउने प्रयास भइरहेको आरोप उहाँले लगाउनुभएको छ।
उहाँले भन्नुभएको छ, “लाखौं जनताको सहकारी बचत हिनामिना गर्ने मुद्दामा अदालतले पुर्पक्षका लागि थुनामा पठाएका केही व्यक्तिमाथि ‘राजनीतिक प्रतिशोध’ भएको भनेर गलत भाष्य फैलाइँदैछ।
यदि एक व्यक्तिमाथि प्रतिशोध हो भने अन्य थुनामा रहेका सयौं व्यक्तिमाथि के हो?”
प्रधानमन्त्रीका अनुसार अदालत स्वतन्त्र छ र त्यसको निर्णय सरकारको पक्षमा होस् वा विपक्षमा, त्यसमा कार्यपालिकाको हस्तक्षेप हुँदैन। उहाँले लोकतान्त्रिक प्रणालीका अंगहरूलाई “पेशेवर मास म्यानुपुलेसन” बाट जोगाउन आवश्यक भएको बताउनुभएको छ।
उहाँले विदेशमा भिजिट भिसामा गइ उताको नागरिकता लिने वा दोहोरो विवाह गर्ने प्रमाणित व्यक्तिहरूले समेत जनतालाई भावनात्मक रूपमा ब्ल्याकमेल गरेर आफ्नो स्वार्थ साध्ने प्रवृत्ति देखाएको आरोप लगाउनुभएको छ।
प्रधानमन्त्रीले भन्नुभएको छ, “यो सरकार दुई प्रमुख दल कांग्रेस र एमालेको साथमा अन्य दलहरूको सहयोगमा बनेको हो। बलियो संसदीय गणितको जगमा उभिएको सरकारलाई अस्थिर देखाउने प्रयास राष्ट्रिय हितको विरुद्ध छ।”
सम्बोधनमा प्रधानमन्त्रीले ‘सोलोमनको न्याय’ कथा उद्धृत गर्दै लोकतन्त्रको रक्षा गर्न आवश्यक कष्ट सहन सरकार तयार रहेको स्पष्ट पार्नुभएको छ। उहाँले लोकतन्त्रलाई जीवनसरह प्रिय रहेको र यसको जीवनका लागि कुनै पनि चुनौती स्वीकार्ने बताउनुभएको छ।