सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्रै आईटी क्षेत्रको विकास सम्भव छः अर्थमन्त्री पौडेल

काठमाडौ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्रै आईटी क्षेत्रको विकास सम्भव रहेको बताएका छन् ।
शुक्रबार डिजिटल नेपाल कन्क्लेभ २०२५ मा बोल्दै पौडेलले सरकार र निजी क्षेत्रको सन्तुलित सम्बन्धबाट मात्रै आईटी क्षेत्रको प्रगति सम्भव हुने बताएका हुन् ।
‘आईटी क्षेत्रको प्रवर्द्धनमा सरकार र निजी क्षेत्रको भूमिका फरक फरक छ । सरकारले गर्ने काम राम्रोसँग भएन भने पनि आईटी क्षेत्र अगाडि बढ्न सक्दैन् ।
सरकारले गर्यो तर निजी क्षेत्रपनि त्यही उत्साहका साथ अगाडि आउन सकने भने अपेक्षित प्रगति गर्न सकिदैन,’ अर्थमन्त्री पौडेलले भने, ‘त्यसैले सरकार र निजी क्षेत्रको बीचमा सन्तुलित सम्बन्ध बनाएर अगाडि बढ्नुपर्छ ।’
आईटी क्षेत्रमा सरकारले गरेको लगानी पर्याप्त नभएको समेत उनले स्वीकार गरेका छन् । ‘सरकारले आईटीमा लगानी गरेको छ । तर यत्ति लगानीले पुग्दैन् । हामी यसलाई बढाउँछौं,’ उनले अगाडि भने ।
कार्यक्रममा बोल्दै उनले कर प्रणालीमा कसैले अनुचित ढंगले दुख दिएको त्यस्तो घटना र पात्रको बारेमा जानकारी दिन समेत अनुरोध गरेका थिए । जानकारी दिएमा तत्कालै कारवाही गर्ने पौडेलको प्रतिबद्धता छ ।
पछिल्लो समय सरकारले आईटी क्षेत्रलाई प्राथमिकता राखेको बताउँदै उनले आईटी निर्यातको आयमा ७५ प्रतिशत छुट, निर्यात गर्ने व्यक्तिको आम्दानीमा ५ प्रतिशत मात्रै आयकर लाग्ने, विशेष उद्योग सरह आयकर र विद्युत महशुल छुट दिने र १० करोडसम्मको कारोबार गर्नेलाई ५ वर्षसम्म आयरकमा छुट दिएको व्यवस्था गरेको अवगत गराएका थिए ।
उनका अनुसार सरकार पेपरलेस र कन्ट्याक्टलेस सेवा प्रवाहको अवधारणामा अगाडि बढेको छ । आईटी क्षेत्रको कठिनाइ छिटो समाधान गर्न केही समय अगाडि अध्यादेशबाट कानुन संशोधन गरेको भन्दै उनले सरकारले गर्नुपर्ने कामको बारेमा सुझाव दिन समेत आग्रह गरेका थिए ।