उपप्रधानमन्त्री पौडेलद्वारा नागरिक लगानी कोषका अध्यक्षलाई बधाई

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नागरिक लगानी कोषका नवनियुक्त अध्यक्ष तुलसीप्रसाद घिमिरेबीच भेटवार्ता भएको छ ।
अर्थ मन्त्रालयमा भएको भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले घिमिरेलाई बधाई सहित सफलताको शुभकामना दिनुभएको थियो ।
उपप्रधानमन्त्री पौडेलले आगामी दिनमा कोषलाई थप व्यवस्थित बनाउँदै सफल बनाउन सरकारले आवश्यक सहयोग गर्न तयार रहेको समेत बताउनुभयो ।
उहाँले नागरिक लगानी कोषलाई सर्वसाधारण नागरिकको हित र विश्वास योग्य संस्थाको रूपमा थप सबल बनाउनुपर्नेमा जोड दिनुभयो।
यस अवसरमा अध्यक्ष घिमिरेले पनि आफुलाई दिइएको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्ने र नागरिकको लगानीलाई सुरक्षित र लाभकारी बनाउन निरन्तर प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
नागरिक लगानी कोषलाई मुलुकको दीर्घकालीन विकास, लगानीको अवसर सिर्जना र नागरिकको बचतलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने महत्त्वपूर्ण संस्थाका रूपमा लिइँदै आएको छ।