प्रथम महिला राधिका शाक्य : “सफलता राजनीति मात्रै होइन, आफ्नो रुचि अनुसारको क्षेत्रमा पनि”

 प्रथम महिला राधिका शाक्य : “सफलता राजनीति मात्रै होइन, आफ्नो रुचि अनुसारको क्षेत्रमा पनि”

काठमाडौं, भदौ ९ । प्रथम महिला राधिका शाक्यले नेपालमा सबै मानिस राजनीति गर्नुपर्ने सोच गलत भएको बताउनुभएको छ। उहाँले प्रत्येक व्यक्तिको रुचि र क्षमता फरक हुने भएकाले आफ्नो क्षेत्रमा सफलता हासिल गर्नेतर्फ ध्यान दिन आवश्यक रहेको धारणा राख्नुभयो।

राष्ट्रिय युवा संघ नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको तीज विशेष कार्यक्रममा सम्बोधन गर्दै शाक्यले नेपाली समाजमा ‘राजनीतिमा मात्र सफल भएकालाई सफल ठान्ने मानसिकता’ हावी भएको उल्लेख गर्नुभयो।

“देशमा भएको सबै मानिसले पोलिटिक्स गरेर हुँदैन। पोलिटिक्समा सफल भएको मान्छे मात्र सफल ठानिँदो रहेछ। अरु क्षेत्रमा सफलता हासिल गर्ने मानिसलाई त्यस्तो सफल मानिँदैन भन्ने हाम्रो सोच छ, तर त्यस्तो होइन,” शाक्यले भन्नुभयो।

उहाँले समाजमा व्याप्त विकृति–विसंगति, नकारात्मक सोच, एक–अर्काको खुट्टा तान्ने प्रवृत्ति, ईर्ष्या र डाहा गर्ने संस्कारले प्रगति रोकिएको भन्दै युवाहरूले यस्तो प्रवृत्ति अन्त्य गर्न अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।

युवाप्रति विशेष अपील गर्दै प्रथम महिला शाक्यले भन्नुभयो, “तपाईंहरू आजको वर्तमान र भोलिको भविष्य हो। तपाईंहरू राम्रो बाटोमा लाग्नुभयो भने हाम्रो भविष्य पनि उज्यालो हुन्छ, तर युवाहरू बिग्रिए वा बरालिए भने भविष्य पनि अन्धकारमय हुन्छ।”

कार्यक्रममा युवालाई सचेत, विवेकशील र सकारात्मक सोचसहित अगाडि बढ्न आग्रह गर्दै उहाँले राष्ट्र निर्माणमा आफ्नो–आफ्नो भूमिकाबाट योगदान दिन सबैलाई प्रेरित गर्नुभयो।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *