प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा जाने

 प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा जाने

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा आगामी अगस्ट ३० देखि सेप्टेम्बर ३ (भदौ १४ देखि १८) सम्म जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा जाने भएका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार, भ्रमणको मुख्य उद्देश्य शाङ्घाई सहयोग सङ्गठन (एससीओ) २०२५ शिखर सम्मेलनमा सहभागिता गर्नु तथा चीनको जापानी आक्रमणविरुद्धको जनयुद्ध र विश्व फासीवाद विरोधी युद्ध विजयको ८० औँ वार्षिकोत्सवमा सहभागी हुनु हो।

भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग तिआन्जिनमा औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। साथै, सेप्टेम्बर १ मा तिआन्जिनमा आयोजना हुने “एससीओ प्लस“ शिखर सम्मेलनलाई सम्बोधन गर्नुका साथै अन्य सहभागी राष्ट्रका प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने सम्भावना पनि रहेको छ।

प्रधानमन्त्री ओलीले सेप्टेम्बर २ मा बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्नेछन्। त्यस्तै, ८० औँ विजय दिवसका विभिन्न स्मृति कार्यक्रममा समेत प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम छ।

भ्रमणमा प्रधानमन्त्री ओलीसँग उनकी श्रीमती राधिका शाक्य पनि सहभागी हुनेछन्। साथै, भ्रमण टोलीमा शिक्षामन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, सांसद पूर्णबहादुर खड्का, सांसद छविलाल विश्वकर्मा, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा र उच्च पदस्थ सरकारी अधिकारीहरू रहने छन्।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *