थाक्रे गाउँपालिकामा पहिरो पन्छाएपछि काठमाडौं–मुग्लिङ सडक खुल्यो

फाइल फोटो
धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका सातकिलो क्षेत्रमा खसेको पहिरो पन्छाएपछि काठमाडौं–मुग्लिङ सडकखण्ड पुनः दुईतर्फी रुपमा सञ्चालनमा आएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी सुवास हमालका अनुसार, आज बिहान करिब साढे तीन बजे खसेको पहिरोले अवरुद्ध भएको सडक बिहान करिब ७:५० बजेदेखि दुईतर्फी खुलाइएको हो।
सडक खुले पनि यहाँ सवारी साधनको चाप बढेको छ। रातिदेखि नै सडक खुल्ने र बन्द हुने क्रम भइरहेकाले सयौं सवारीसाधन मार्गमै रोकिएका थिए। जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङको सहयोगमा ती सवारीसाधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको छ।
सवारी चालकहरुलाई प्रहरीले हतार नगरी ट्राफिक नियम पालना गर्दै सवारी चलाउन अनुरोध गरेको छ।