अर्थमन्त्री पौडेल र चीनका उपमन्त्री लिङजुनबीच शिष्टाचार भेट
काठमाडौं, भदौ १२ – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ्ग लिङजुनबीच आज काठमाडौंमा शिष्टाचार भेटघाट भएको छ।
भेटका क्रममा नेपाल–चीनबीच सञ्चालनमा रहेका भन्सार नाकाहरूको व्यवस्थापन, बाढीले क्षति पुर्याएको रसुवा नाकाको पुल तथा सडक पुनर्निर्माण, विगतका सहमति अनुसारका सडक पूर्वाधारहरूको स्तरोन्नति लगायतका विषयमा छलफल गरिएको मन्त्रालयले जनाएको छ।
त्यसैगरी, नेपाल–चीन व्यापार विस्तारका सम्भावना, दुवै देशबीच विगतमा भएका सहमतिहरूको कार्यान्वयन र आगामी दिनमा आपसी सहयोगलाई अझ मजबुत बनाउन सकिने उपायहरूबारे पनि दुई पक्षबीच विचारविमर्श भएको छ।
भेटवार्ताले दुई देशबीचको आर्थिक तथा भौतिक पूर्वाधार सम्बन्ध थप प्रगाढ बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ।
