एमालेको विधान अधिवेशन आज सकिदै

काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आज सम्पन्न हुँदैछ । शुक्रबारदेखि सुरु भएको महाधिवेशनमा दोस्रो दिन तीन वटा महत्वपूर्ण दस्तावेज प्रस्तुत गरिएपछि प्रतिनिधिहरूले समूहगत छलफल गरेका थिए । यस क्रममा प्रदेश, उपत्यका तथा केन्द्रीय संरचनाका आधारमा प्रतिनिधिहरूलाई १० समूहमा विभाजन गरिएको थियो ।
महाधिवेशनमा प्रस्तुत प्रतिवेदनबाहेक अन्य विषयमा छलफल नगर्न अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिँदै विद्या भण्डारीको सदस्यताको विषय उठाइने सम्भावना नकारेका थिए ।
तर प्रतिनिधिहरूले ओलीको निर्देशनलाई बेवास्ता गर्दै उक्त विषय समेत उठाएका थिए । आज महाधिवेशनको अन्तिम दिन समूहका नेताले प्रतिवेदन प्रस्तुत गर्ने तालिका रहेको छ ।
ती प्रतिवेदनमाथि आएका सुझावबारे अध्यक्ष ओलीले जवाफ दिने र सहमति हुन नसकेका विषयमा मतदानमार्फत टुंगो लगाइने तयारी भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जनाएका छन् । साथै, महाधिवेशन सकिनुअघि एमाले केन्द्रीय निर्वाचन आयोगको निर्वाचन पनि सम्पन्न गर्ने कार्यसूची तय गरिएको छ ।