चाडपर्व लक्षित बजार अनुगमन कडा बनाउँदै विभाग, मूल्यवृद्धि र अनियमितता नियन्त्रणमा जोड

काठमाडौँ – चाडपर्वको अवसरमा बजारमा मूल्यवृद्धि, ठगी र अन्य अनियमितता रोकथाम गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन कडा बनाउने निर्णय गरेको छ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक रोशन ज्ञवालीले विभागको तयारी र आगामी रणनीति सार्वजनिक गर्दै उपभोक्ताको हित र बजारको पारदर्शिता सुनिश्चित गर्न प्रतिबद्धता जनाउनुभयो ।
खाद्यवस्तुमा मिसावट नियन्त्रणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई निर्देशन दिइने, सार्वजनिक यातायातलाई सुरक्षित र सुलभ बनाउने तथा संघ, प्रदेश र स्थानीय तह मार्फत उपभोक्ता सचेतना कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो।
अनुगमन समितिले नियमित तथा आकस्मिक बजार अनुगमनलाई प्राथमिकता दिने, उपभोक्ता शिक्षा अभियानलाई प्रभावकारी बनाउने र चाडपर्व लक्षित अनुगमनलाई विशेष महत्व दिने रणनीति तय गरेको महानिर्देशक ज्ञवालीले जानकारी दिनुभयो ।
महानिर्देशक ज्ञवालीले हाल खाद्यान्न आपूर्तिमा कुनै समस्या नभएको दाबी गर्दै किराना व्यवसायी संघ, अण्डा उत्पादक संघ र पानी व्यवसायीहरूसँग छलफल गरिएको जानकारी दिनुभयो।
अण्डामा अधिकतम खुद्रा मूल्य र उपभोग अवधि अनिवार्य गर्ने, पानी आपूर्तिमा देखिएका गुनासो समाधान गर्ने र बजारमा देखिने अनियमितता नियन्त्रणमा विभाग सक्रिय रहने बताउनुभयो।
विभागले यस अभियानले उपभोक्ताको सुरक्षालाई बलियो बनाउँदै चाडपर्वको अवसरमा सहज, सुरक्षित र पारदर्शी बजार सुनिश्चित गर्ने उद्देश्य राखेको महानिर्देशक ज्ञवालीले बताउनुभयो।