कर्फ्यु आदेश जारी, Gen-Z प्रदर्शनकारीहरू तितरबितर

 कर्फ्यु आदेश जारी, Gen-Z प्रदर्शनकारीहरू तितरबितर

काठमाडौं – राजधानीमा जेनजेड (Gen Z) प्रदर्शनकारीहरूको आन्दोलन चर्किएसँगै प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। संसद भवन परिसरभित्र प्रदर्शनकारीहरू प्रवेश गरेपछि सुरक्षा संवेदनशीलता बढेको भन्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयले आकस्मिक रूपमा कर्फ्यु लागू गरेको हो।

कर्फ्यु आदेश जारी भएपछि संसद भवन वरिपरि रहेका प्रदर्शनकारीहरू क्रमशः तितर-बितर हुन थालेका छन्। तर, उनीहरू फेरि रत्नराज्य क्याम्पस, थापाथली क्षेत्र र मीनभवन क्याम्पस वरिपरि भेला भएर नाराबाजी गरिरहेका छन्।

प्रहरीले पटक–पटक लाठीचार्ज र अश्रुग्यास प्रहार गरे पनि प्रदर्शनकारीहरू साना समूहमा विभाजित भएर राजधानीका विभिन्न चोक तथा शैक्षिक क्षेत्रहरूमा प्रदर्शनलाई निरन्तरता दिइरहेका छन्।

आजको प्रदर्शन माइतीघर मण्डलाबाट सुरु भएको थियो। त्यहाँबाट ठुलो जुलुससहित बानेश्वरतर्फ अघि बढेका प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्दै संसद भवनको नजिकै पुगेका थिए। संसद परिसर प्रवेशसँगै झडप सुरु भएपछि सुरक्षाकर्मीले बल प्रयोग गर्दै नियन्त्रणमा लिन खोज्दा परिस्थिति थप तनावपूर्ण बनेको हो।

युवाहरूले विभिन्न राजनीतिक असन्तुष्टि, सामाजिक मुद्दा र भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आएका छन्। उनीहरूले सरकारप्रति अविश्वास व्यक्त गर्दै शासन प्रणालीमा परिवर्तन र नीति–निर्णयमा नयाँ पुस्ताको सहभागिता सुनिश्चित गर्न माग गरिरहेका छन्।

सुरक्षा निकायका अनुसार अहिले राजधानीका संवेदनशील क्षेत्रहरूमा प्रहरी र सशस्त्र प्रहरीको बाक्लो तैनाथी गरिएको छ। जनताले अनावश्यक भीडभाड नगरी घरमै बस्न आग्रह गरिएको छ।

यसैबीच, प्रशासनले कर्फ्यु आदेश पालना नगर्नेप्रति कारबाही गर्ने चेतावनी दिँदै शान्ति–सुरक्षा कायम गर्न सबै पक्षलाई संयमता अपनाउन आह्वान गरेको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *