जेनजी आन्दोलनको आह्वान- घुसपैठ भयो, सुरक्षित घर फर्कौं
काठमाडौं – राजधानीमा भइरहेको जेनजी आन्दोलन सोमबार नयाँ मोडमा पुगेको छ। बिहानैदेखि माइतीघरमा भेला भएका युवाहरूको प्रदर्शन दिउँसो बानेश्वर पुग्दा उग्र बनेपछि सुरक्षाकर्मीले बल प्रयोग गरेका छन्। स्थिति तनावपूर्ण बन्दै गएपछि आन्दोलनमा घुसपैठ भएको दाबी गर्दै जेनजी आन्दोलनले आफ्ना सहभागीहरूलाई घर फर्कन आह्वान गरेको हो।
आन्दोलनको व्यवस्थापनमा सक्रिय जेनजी प्रतिनिधि प्रदीप ज्ञवालीका अनुसार “जेन डट जेटनेपालमा” नामक इन्स्टाग्राम अकाउन्टमार्फत सूचना जारी गर्दै सहभागीलाई तत्काल घर फर्कन भनिएको छ। “घुसपैठ भयो, हामीले सबैलाई फर्कन भनिसकेका छौं,” ज्ञवालीले भने।
बिहान ९ बजेदेखि माइतीघरमा सुरु भएको प्रदर्शन करिब ११ बजेपछि बानेश्वर पुगेको थियो। त्यहाँ पुगेपछि आन्दोलनकारीहरूले निषेधित क्षेत्र तोड्दै अघि बढ्दा प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको हो। प्रहरीले पटक–पटक तितरबितर गर्ने प्रयास गरे पनि ठूलो संख्यामा आएका युवाहरू सडकमा अडिग रहे।
स्थिती थप बिग्रिँदै जाँदा केही प्रदर्शनकारीहरू संसद भवन परिसरभित्रै प्रवेश गरेका थिए। तर, सुरक्षाकर्मीले तत्कालै उनीहरूलाई बाहिर निकालेका थिए। त्यसपछि संसद वरिपरि बाक्लो सुरक्षा घेराबन्दी गरिएको छ।
जेनजी आन्दोलनको नेतृत्वकर्ताहरूले सुरु देखिनै शान्तिपूर्ण र अनुशासित रूपमा आवाज उठाउने प्रतिबद्धता जनाउँदै आएका छन्। तर, बानेश्वरमा भएको उग्र घटनापछि उनीहरूले आन्दोलनको मूल उद्देश्यलाई हानी पुग्ने चिन्ता व्यक्त गरेका छन्। त्यसैले आधिकारिक आह्वानमार्फत सबैलाई घर फर्कन भनिएको हो।
सुरक्षा निकायका अनुसार अहिले माइतीघर, बानेश्वर, थापाथली, रत्नराज्य क्याम्पस र मीनभवन आसपास ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रहरीले परिस्थितिलाई नियन्त्रणमा लिने प्रयास जारी राखेको र आवश्यक परे थप बल प्रयोग गर्न सक्ने चेतावनी पनि दिएको छ।
यसैबीच, सामाजिक सञ्जालमार्फत जेनजी युवाहरूले आफ्ना माग र असन्तुष्टि राखिरहेका छन्। उनीहरूले भ्रष्टाचारविरुद्ध, राजनीतिक जवाफदेहिताका लागि र नयाँ पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्न सरकारलाई दबाब दिइरहेका छन्।
