मन्त्रिपरिषद् बैठक बस्दै, सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई पुनर्विचार गर्ने कि नगर्ने भन्ने विषय पनि एजेन्डामा

 मन्त्रिपरिषद् बैठक बस्दै, सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई पुनर्विचार गर्ने कि नगर्ने भन्ने विषय पनि एजेन्डामा

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकलाई आज दिनभर राजधानीसहित देशभर चर्किएको जेनजी प्रदर्शनको पृष्ठभूमिमा अत्यन्तै महत्वपूर्ण मानिएको छ।

सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि आक्रोशित युवाहरूले आज माइतीघरदेखि नयाँ बानेश्वरसम्म ठूलो संख्यामा सडकमा उत्रिएका थिए।

शान्तिपूर्ण रूपमा सुरु भएको प्रदर्शन बानेश्वर पुगेपछि उग्र बनेको थियो। प्रहरीले भीड नियन्त्रणका लागि अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरे पनि भिड नछतरेपछि गोलीसमेत प्रहार गरिएको बताइएको छ। सो क्रममा दुई जना प्रदर्शनकारीको मृत्यु भएको पुष्टि भएको छ भने कैयौं घाइते भएका छन्।

घटनापछि राजधानीमा वातावरण तनावपूर्ण बनेको छ। संसद भवन परिसरमा घुसपैठ भएको भन्दै सुरक्षा निकायले बाक्लो घेराबन्दी गरेको छ। विभिन्न स्थानमा साना समूहमा विभाजित भएर प्रदर्शनकारीहरू अहिले पनि नाराबाजी गरिरहेका छन्।

यस्तो परिस्थितिमा बोलाइएको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले सुरक्षा स्थिति, जनआक्रोशको व्यवस्थापन र सरकारको आगामी कदमबारे मन्त्रिपरिषद्का सदस्यहरूसँग विस्तृत छलफल गर्ने अपेक्षा गरिएको छ।

सरकारका एक मन्त्रीले “बानेश्वर घटनाको विषय बैठकमा विशेष रूपमा उठ्नेछ, साथै आन्दोलनलाई कसरी शान्त पार्ने भन्ने विषयमा पनि रणनीति तय हुनेछ” भन्ने टिप्पणी गरेका छन्।

स्रोतहरूका अनुसार बैठकमा सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई पुनर्विचार गर्ने कि नगर्ने भन्ने विषय पनि एजेन्डामा पर्न सक्नेछ। किनकि, यही निर्णयले देशभर युवा पुस्तालाई आक्रोशित बनाएको र आन्दोलनमा उत्रन बाध्य बनाएको हो।

राजधानीमा जारी असन्तुष्ट वातावरणबीच आज साँझको मन्त्रिपरिषद् बैठक सरकारको नीतिगत निर्णय र आगामी राजनीतिक समीकरणका दृष्टिले निर्णायक हुने अपेक्षा गरिएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *