जेनजी आन्दोलनमा भएको झडपमा घाइते हुनेको संख्या ७७
काठमाडौं – राजधानीको नयाँ बानेश्वरमा जेनजी आन्दोलनका क्रममा भएको झडपमा घाइते हुनेको संख्या ७७ पुगेको छ। संसद भवन अगाडिको क्षेत्रमा दिउँसो प्रदर्शन तीव्र बन्दै गएपछि सुरक्षाकर्मी र प्रदर्शनकारीबीच ठूलो झडप भएको थियो।
प्रहरीका एक उच्च अधिकृतका अनुसार घाइतेमध्ये १५ जना सुरक्षाकर्मी रहेका छन् भने बाँकी प्रदर्शनकारी हुन्। उनीहरूलाई तत्कालै उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएको छ।
मिनभवनस्थित सिभिल अस्पतालमा मात्र ५२ जना घाइतेको उपचार भइरहेको छ भने ट्रमा सेन्टरमा १० जना प्रदर्शनकारी उपचाररत छन्। अस्पताल प्रशासनले घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जानकारी दिएको छ।
संसद भवन परिसरमा प्रदर्शनकारी घुसेपछि सुरक्षाकर्मीले नियन्त्रणमा लिन बल प्रयोग गर्दा अश्रुग्यास, पानीको फोहोरा र गोलीसमेत चलाइएको थियो। त्यसक्रममा दर्जनौं घाइते भएका थिए।
युवाहरूले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध आक्रोश व्यक्त गर्दै माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका थिए। सुरक्षाकर्मीको कडा निगरानीबीच अहिले पनि केही स्थानमा साना समूहमा प्रदर्शन भइरहेको छ।
प्रहरीले स्थिति नियन्त्रणमा लिइएको दाबी गरे पनि काठमाडौं उपत्यका तनावग्रस्त बनेको छ। सरकार र आन्दोलनकारीबीच वार्ता वा छलफल हुने सम्भावनाबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी आएको छैन।
