सुरक्षाका कारण भारतद्वारा जमुनाहा सीमा नाका बन्द

 सुरक्षाका कारण भारतद्वारा जमुनाहा सीमा नाका बन्द

नेपालगन्ज । जेनजी आन्दोलनले नेपालमा सिर्जना गरेको तनावपूर्ण अवस्थाका कारण भारतले बाँकेको नेपालगन्ज–रुपैडिहा जोड्ने जमुनाहा सीमा नाका पूर्ण रूपमा बन्द गरेको छ।

बुधबार बिहानदेखि भारतीय सुरक्षा निकायले आम आवागमन रोक्दै केवल आपतकालीन सवारीसाधन, बिरामी बोकेको एम्बुलेन्स र विशेष अवस्थाका नेपाली नागरिकलाई मात्र भारत प्रवेश गर्ने अनुमति दिएको छ।

यसअघि मंगलबारदेखि नै नाकामा एसएसबी र भारतीय प्रहरीले कडाइ बढाएका थिए। तर, दिउँसो प्रदर्शनकारीहरूले जमुनाहा प्रहरी चौकी र भन्सार यात्रु शाखामा तोडफोड तथा आगजनी गरेपछि सुरक्षाकर्मी हटेका थिए। रातभर नाकामा नेपाली सुरक्षाकर्मीको उपस्थिति नरहेको स्थानीयले बताएका छन्।

बुधबार बिहानदेखि भने नेपाली सेनाले सुरक्षाको कमान्ड सम्हालेपछि नाकामा पुनः प्रहरी र सुरक्षाकर्मीहरूको उपस्थिति देखिएको छ। सेनाको कमान्ड आएपछि नेपालगन्ज बजारसहित सीमा क्षेत्रमा परिस्थिति क्रमशः सामान्य हुँदै गएको स्थानीय प्रशासनले जनाएको छ।

यसबीच, आन्दोलनका क्रममा नाकामा गरिएको तोडफोड र आगजनीका दृश्यहरू सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएका छन्।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *