नारायणगढ–मुग्लिन सडकखण्डमा ठूलो पहिरो, यातायात अवरुद्ध

 नारायणगढ–मुग्लिन सडकखण्डमा ठूलो पहिरो, यातायात अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। शुक्रबार साँझ ६ बजेपछि निरन्तर खसेको पहिरोले करिब १०० मिटर सडक ढाकेको डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेले जानकारी दिए।

उनका अनुसार करिब १०० मिटर माथिबाट खसेको पहिरो रातभर पटक–पटक झर्दै आएकोले तत्काल पन्छाउन नसकिएको थियो। बिहान उज्यालो भएसँगै दुवैतर्फबाट एक–एक लोडर परिचालन गरी पहिरो पन्छाउने काम सुरु गरिएको छ।

त्यस्तै, नारायणगढतर्फ सेती दोभान क्याम्पबाट एउटा स्काभेटर पनि पठाइएको छ।

लामिछानेका अनुसार, पहिरो ठूलो रहेको र ढुङ्गा निरन्तर खसिरहेकोले जोखिम कायम छ। थप पहिरो नखसेमा करिब चार घण्टाभित्र सडक खुल्ने अनुमान गरिएको छ।

यसअघि शुक्रबार दिउँसो खसेका पहिरो हटाइए पनि साँझ ६ बजेपछि फेरि ठूलो पहिरो खसेपछि सडक पूर्णरूपमा बन्द भएको हो। सडक अवरुद्ध भएपछि यात्रुहरू रातभर सडकमै अल्झिन बाध्य भएका थिए।

पहिरो खसेको स्थान मुग्लिनबाट २.५ किलोमिटर नारायणगढतर्फ पर्छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *