कमजोर बन्दै मनसुन, छैन भारी वर्षाको सम्भावना
Rainy weather
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले आगामी केही दिन भारी वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी, मधेस र बागमती प्रदेशमा सामान्यतया बदली रही हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने बाँकी प्रदेशहरूमा आंशिक बदली छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भएको छ।
आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा सामान्यतया बदली रहने छ। तराईका केही भूभागमा आंशिक बदली मात्र रहने अनुमान छ।
यस अवधिमा कोशी र बागमती प्रदेशका केही स्थान, मधेस र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्यतया बदली रहने छ भने अन्य भूभागमा आंशिक बदली मात्र रहनेछ। कोशी, मधेस, बागमती र गण्डकीका केही स्थानमा मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको मौसमविद्हरूको भनाइ छ।
