परिवर्तनकारी शक्तिबीच दह्रो एकताको खाँचो छ : पुष्पकमल दाहाल ‘प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको संक्रमणकालीन अवस्थाबाट मुलुकलाई पार लगाउन परिवर्तनकारी शक्तिबीच दह्रो एकताको खाँचो रहेको बताएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा शुभकामना सन्देश दिँदै उनले विगतका संघर्ष, बलिदान र उपलब्धिहरूलाई सुरक्षित गर्दै नयाँ नेपालको सपना पूरा गर्न सकिने बताएका हुन् ।
उनले जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलन र विभिन्न ऐतिहासिक आन्दोलनमार्फत आर्जित संविधान, लोकतन्त्र र सामाजिक न्यायका उपलब्धिहरूलाई संस्थागत गर्दै अघि बढ्नु आजको प्रमुख चुनौती रहेको औंल्याए । “संविधानले हामीलाई नयाँ युगको दिशातर्फ उन्मुख गराएको छ । तर यसको सफल कार्यान्वयनका लागि राजनीतिक स्थिरता, सहमति र परिवर्तनकारी शक्तिबीचको दह्रो एकता अपरिहार्य छ,” अध्यक्ष प्रचण्डले भने ।
उनका अनुसार, सामाजिक न्याय, समानता, समावेशी शासन व्यवस्था र संघीय लोकतान्त्रिक प्रणालीलाई अझ सुदृढ बनाउने काम अधुरो रहेको छ । उनले अहिले पनि समाजमा असमानता, भेदभाव, गरिबी र बेरोजगारीजस्ता चुनौती विद्यमान रहेको उल्लेख गर्दै यी समस्या समाधानका लागि एकताबद्ध प्रयास आवश्यक रहेको स्पष्ट पारे ।
अध्यक्ष प्रचण्डले संविधान दिवसलाई इतिहासका उपलब्धिहरूलाई स्मरण गर्ने मात्र दिन नभई भावी पुस्ताको लागि नयाँ संकल्प लिने अवसरको रूपमा लिनुपर्ने बताए । उनले सहमति र सहकार्य बिना मुलुकले लक्ष्य हासिल गर्न नसक्ने भन्दै राजनीतिक शक्तिहरूबीच विश्वास र साझा दृष्टिकोण विकास गर्नुपर्नेमा जोड दिए ।
उनले नेपाललाई स्थायी शान्ति, सुशासन र समृद्धिको यात्रामा अघि बढाउन सबै दल, नागरिक समाज, मजदुर, किसान, युवापुस्तासहित सम्पूर्ण जनताको सक्रिय सहभागिता अपरिहार्य रहेको औंल्याए । प्रचण्डले राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र अस्मिताको संरक्षण गर्दै राष्ट्रिय एकता सुदृढ पार्न सबै परिवर्तनकारी शक्तिहरूले दह्रो हातेमालो गर्नुपर्ने अपील पनि गरे ।
