संविधानले नेपाली समाजलाई राष्ट्रिय एकताको सूत्रमा बाँधेको छ : राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले देशको विविधतायुक्त सामाजिक संरचनालाई एकताबद्ध गर्दै राष्ट्रिय एकताको सूत्रमा बाँध्न सफल भएको बताएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा देश विदेशमा रहेका नेपाली जनसमुदायलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले लोकतान्त्रिक संविधानको जगमा टिकेका मूल्य र आदर्शलाई अझ सुदृढ गर्दै अघि बढ्न सबैलाई आह्वान गरेका छन् ।
उनले संविधानलाई नेपाली जनताको लामो संघर्ष र बलिदानको ऐतिहासिक उपलब्धि ठहर गर्दै यसले मुलुकलाई स्थायित्व, समावेशी शासन र सामाजिक सद्भावमा जोड्ने आधार बनेको बताए । राष्ट्रपति पौडेलका अनुसार, नेपालको संविधानले जातीय, भाषिक, सांस्कृतिक, धार्मिक तथा भौगोलिक विविधतालाई सम्मान गर्दै साझा नेपाली पहिचान निर्माण गरेको छ ।
सम्बोधनमा उनले संविधानले नागरिकलाई प्राप्त गरेका मौलिक हक, समानताको अधिकार, सामाजिक न्याय र संघीय लोकतान्त्रिक प्रणालीमार्फत मुलुकलाई नयाँ दिशातर्फ अघि बढाएको उल्लेख गरे । “संविधानले हामीलाई मात्र अधिकार दिएको छैन, जिम्मेवारी पनि दिएको छ । सबैले आफ्नो कर्तव्य पूरा गरेमा संविधानले देखाएको सुशासन, समृद्धि र सामाजिक न्यायको लक्ष्य पूरा हुन्छ,” राष्ट्रपति पौडेलले भने ।
राष्ट्रपति पौडेलले संविधान दिवसलाई ऐतिहासिक उपलब्धिलाई स्मरण गर्ने दिन मात्र नभई भावी पुस्ताप्रति प्रतिबद्धता जनाउने अवसरका रूपमा लिनुपर्नेमा जोड दिए । उनले सहमति, संवाद र सहकार्यको संस्कृतिलाई बलियो बनाउँदै संविधान कार्यान्वयनमा सबै राजनीतिक दल, राज्यका अंग र नागरिक समाज एकजुट हुनुपर्ने आवश्यकता औंल्याए ।
यस अवसरमा उनले लोकतन्त्रलाई अझ सबल बनाउँदै विकास र समृद्धिको यात्रामा सरकार र जनताले हातेमालो गर्नुपर्नेमा विश्वास व्यक्त गरे । साथै, नेपाललाई स्थायी शान्ति, सुशासन र दिगो विकासतर्फ अघि बढाउन सबै नेपाली एक ढिक्का भएर लाग्नुपर्ने उल्लेख गर्दै राष्ट्रिय एकताको भावनालाई अझ मजबुत बनाउन आह्वान गरे ।
