संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ विविध कार्यक्रमसहित मनाइँदै

 संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ विविध कार्यक्रमसहित मनाइँदै

संविधानसभाबाट ‘नेपालको संविधान २०७२’ जारी गर्दै तत्कालीन राष्ट्रपति डा.रामवरण यादव र सभामुख सुवास नेम्वाङ

काठमाडौं । आज नेपालभर संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ विविध कार्यक्रमहरूको आयोजना गरी मनाइँदै छ।

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे राजधानीको सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना भएको हो। कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले विशेष सम्बोधन गर्ने तय भएको छ।

हालको विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष झाँकीलगायत सांस्कृतिक प्रस्तुतिहरू भने स्थगित गरिएको छ। तर, राष्ट्रध्वजावाहक टुकडीको मार्चपास, सैनिक सम्मान र राष्ट्रगानसहितको औपचारिक समारोह भने आयोजना हुनेछ।

संविधान दिवस नेपाली जनताको लामो बलिदानीपूर्ण संघर्षको ऐतिहासिक उपलब्धिका रुपमा मनाइँदै आएको छ। संविधानसभाबाट नेपालमा २०७२ असोज ३ गते संविधान जारी गरिएको थियो।

दोस्रो संविधानसभाले लामो बहस, विवाद र सहमतिपछि ‘नेपालको संविधान २०७२’ पारित गरेको थियो। त्यसबेला नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बसेको संविधानसभा बैठकबाट तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले मध्यरातमा संविधान जारी भएको घोषणा गर्नुभएको थियो।

यस वर्ष संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा पनि मनाइँदै छ। संविधानले मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संरचनामा प्रवेश गराएको र समानता, अधिकार र न्यायलाई संस्थागत गरेको भन्दै यस दिवसलाई ऐतिहासिक दिनका रूपमा स्मरण गरिन्छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *