सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा जगदीश खरेल, चुनावलाई निष्पक्ष बनाउन सरकार सक्रिय

 सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा जगदीश खरेल, चुनावलाई निष्पक्ष बनाउन सरकार सक्रिय

काठमाडौँ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा जगदीश खरेल सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त भएका छन्। सरकारको मुख्य सूचना संयन्त्र परिचालन गर्ने मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री खरेलले तत्कालीन प्राथमिकता चुनाव निष्पक्ष र सहज बनाउनुपर्ने रहेको बताएका छन्।

फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई समयमै सम्पन्न गराउने सरकारको पहिलो दायित्व भएको मन्त्री खरेलले बताएका छन्।

उनका अनुसार निर्वाचन गराउन आवश्यक सबै सरोकारवाला निकाय, राजनीतिक दल तथा एजेन्सीसँग समन्वयात्मक ढंगले अघि बढ्नेछ।
“चुनावलाई सहज सम्पन्न गराउन नीतिगत रूपमा जहाँ–जहाँ अड्चन छन्, त्यसलाई फुकाउने काम हुन्छ,” उनले भने, “संरचनागत समस्या समाधान गर्दै समन्वय र सहकार्यको वातावरण बनाउन सरकार सक्रिय हुन्छ।”

मन्त्री खरेलले निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित निर्वाचन सुनिश्चित गर्न वार्ता र संवादलाई सरकारको प्राथमिकतामा राखिने बताए। उनका अनुसार राजनीतिक दलहरू तोकिएको मितिमा चुनाव गराउन सहमत देखिएका छन् र अहिलेसम्म कुनै दलले विरोध गरेको छैन।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारीलाई चुनौतीपूर्ण भन्दै उनले जनतासँग सरकारबीच ‘ब्रिजिङ’ गर्ने भूमिका प्रभावकारी बनाउनुपर्ने बताए।
“सूचना प्रविधिलाई कसरी दैनिक जीवन र सरकारका कामकारबाहीमा जोड्न सकिन्छ भन्ने विषयमा स्पष्ट रणनीति बनाउनुपर्छ,” उनले भने।

हालैको जेनजेड आन्दोलन सामाजिक सञ्जाल बन्दसँग पनि जोडिएको भन्दै मन्त्री खरेलले यसबाट पाठ सिक्नुपर्ने बताए। उनका अनुसार आन्दोलनले उठाएको सुशासन र भ्रष्टाचार नियन्त्रणको मागप्रति सरकार गम्भीर छ। “भ्रष्टाचार नियन्त्रण तत्कालै पूरा नहुने भए पनि यसको शुरुवात गर्नुपर्ने अवस्थामा छौँ, सरकार त्यस दिशामा अघि बढ्छ,” उनले स्पष्ट पारे।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *