काठमाडौँमा चाडपर्व लक्षित संयुक्त ट्राफिक र्याली
काठमाडौँ । चाडपर्व लक्षित सुरक्षा सचेतनाका लागि आज काठमाडौँमा संयुक्त ट्राफिक र्याली आयोजना गरिएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ महानगर प्रहरी बलको संयुक्त पहलमा गरिएको यस र्यालीमा सहभागीहरूले विभिन्न जनचेतनामूलक प्ले कार्ड बोकेर सडकमा हिँडेका थिए।
र्यालीको उद्देश्य चाडपर्वको समयमा बढ्ने सवारी साधनको चाप र सम्भावित दुर्घटना नियन्त्रण गर्दै सुरक्षित तथा जिम्मेवार सडक प्रयोगको सन्देश फैलाउनु रहेको आयोजकले जनाएका छन्।
रानीपोखरीस्थित काठमाडौँ उपत्यका प्रहरी कार्यालयबाट सुरु भएको र्याली उपत्यका ट्राफिक प्रहरी कार्यालय पुगेर औपचारिक कार्यक्रमका साथ सम्पन्न गरिएको थियो।
प्रहरीका अनुसार, आगामी दिनमा पनि चाडपर्वलाई लक्षित गरी सडक सुरक्षा, ट्राफिक नियम पालन र जनचेतना सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ।
