एमाले सचिवालय बैठक आज पनि बस्दै, महाधिवेशन मिति तोक्ने तयारी

 एमाले सचिवालय बैठक आज पनि बस्दै, महाधिवेशन मिति तोक्ने तयारी

भक्तपुर, असोज २५। नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठक आज पनि बस्दैछ। बैठक बिहान ११ बजे अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित निवास गुण्डुमा सुरु हुने भएको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन्।

हिजो बसेको सचिवालय बैठकमा पार्टीको आगामी महाधिवेशन छिट्टै आयोजना गर्ने विषयमा विस्तृत छलफल भएको थियो। ज्ञवालीका अनुसार हिजोको बैठकले महाधिवेशनमार्फत हाल उठिरहेका सबै प्रश्नहरूको समाधान खोज्ने र नयाँ दिशामा अघि बढ्ने निष्कर्ष निकालेको थियो।

त्यस्तै, बैठकमा भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनबारे पनि सविस्तार समीक्षा गरिएको बताइएको छ। सरकारले राष्ट्रिय एकता कायम गर्नुपर्ने, कुनै दललाई निषेध नगरी सबैलाई एकतामा ल्याएर सिङ्गो देशलाई एउटै ध्येयमा उभ्याउनुपर्ने निष्कर्ष बैठकले निकालेको ज्ञवालीको भनाइ छ।

आजको बैठकमा पार्टी महाधिवेशनको मिति र तयारीका विषयमा मुख्य छलफल केन्द्रित हुने बताइएको छ। बैठकपछि मितिसहितको निर्णय सार्वजनिक हुने अपेक्षा गरिएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *