रूपन्देहीमा सशस्त्र प्रहरी निरीक्षकसहित दुई जनामाथि भ्रष्टाचार मुद्दा
काठमाडौँ, असोज २५। रूपन्देहीका कार्यालय प्रमुख तथा सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकालसहित दुई जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। आयोगले शुक्रबार विशेष अदालतमा उनीहरूविरुद्ध मुद्दा दर्ता गरेको हो।
अख्तियारका प्रवक्ता राजेन्द्रप्रसाद पौडेलका अनुसार ढकालले कोटहीमाई गाउँपालिका–५ स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट मझगाँवामा कार्यरत सशस्त्र प्रहरी जवान यमबहादुर खत्रीलाई भारतबाट कर छली गरी सामान ल्याउन सहजीकरण गरेको अभियोग लागेको छ।
अख्तियारको टोलीले खत्रीलाई सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो। अनुसन्धानमा उनीहरूले आपसी मिलेमतोमा भारतको दुर्गौलिया नाका हुँदै नेपालमा घरायसी सामान ल्याउन सहजीकरण गर्दै अवैध रुपमा रकम असुल्दै आएको तथ्य खुल्ने निष्कर्षमा अख्तियार पुगेको छ।
‘उनीहरूले सेवाग्राहीलाई सहजीकरण गरिदिएवापत १५ हजार रुपैयाँ लिने गरेको पाइएको छ,’ आयोगले विशेष अदालतमा बुझाएको आरोपपत्रमा उल्लेख छ।
यससँगै अख्तियारले सशस्त्र प्रहरी संगठनभित्र पनि आन्तरिक निगरानी र स्वच्छ प्रशासनिक अभ्यास सुदृढ गर्नुपर्नेमा जोड दिएको छ।
– अहा न्यूज डेस्क
