शिक्षक नियुक्तिमा साढे ४ लाख घुस माग्ने प्रधानाध्यापक र बिचौलिया साहकानु रंगेहात पक्राउ
काठमाडौं । शिक्षक नियुक्तिका लागि सेवाग्राहीसँग चार लाख पचास हजार रुपैयाँ घुस लिएको अभियोगमा रौतहटको जय किसान माध्यमिक विद्यालयका प्रधानाध्यापक संजय प्रसाद र बिचौलिया अरविन्द प्रकाश साहकानु पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिएको सूचनाको आधारमा बिचौलिया साहकानुले सेवाग्राहीबाट मागिएको रकम बुझिसकेको अवस्थामा रंगेहात पक्राउ गरेको जनाएको छ।
प्रधानाध्यापक संजय प्रसादले विद्यालयमा शिक्षक आवश्यकता सम्बन्धी खुलाइएको विज्ञापनको आधारमा सेवाग्राहीबाट विधिपूर्वक दिइएको दरखास्तको प्रक्रियालाई अगाडि बढाउने बहानामा घुस मागेको उजुरीका आधारमा आयोगको टोली खटिएको थियो।
उनले विचौलियामार्फत ४ लाख ५० हजार रुपैयाँ घुसबापत मागेका थिए । उनीहरूलाई पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१३, अदालत रोडस्थित एक होटलबाट शुक्रबार नियन्त्रणमा लिइएको हो।
अहिले दुबैजनामाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।
