आज ४५ औँ विश्व खाद्य दिवस मनाइँदै

 आज ४५ औँ विश्व खाद्य दिवस मनाइँदै

काठमाडौँ । नेपालसहित विश्वभर आज (अक्टोबर १६) ४५औँ विश्व खाद्य दिवस विभिन्न कार्यक्रमसहित मनाइँदै छ। स्वच्छ, पोषणयुक्त र सन्तुलित भोजनको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यका साथ प्रत्येक वर्ष यो दिवस मनाइन्छ।

यस वर्षको नाराका रूपमा ‘स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो’ तय गरिएको छ। दिवसको अवसरमा कृषि विभागले संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ), खाद्यका लागि कृषि अभियान लगायतका संस्थाहरूसँग समन्वय गरी देशभर विभिन्न कार्यक्रम आयोजना गरेको छ।

खाद्य दिवसको मूल समारोह समितिको अध्यक्षता कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले गरेका छन्। विभागका अनुसार आजको दिनलाई अवसर बनाई खाद्य प्रदर्शनी, जानकारीमूलक सत्र, पोस्टर प्रकाशन, सन्देश प्रसारण लगायत जनचेतनामूलक गतिविधिहरू सञ्चालन भइरहेका छन्।

महानिर्देशक सञ्जेलले विश्व खाद्य दिवसले भोकमरी न्यूनीकरण, पोषण सुधार र खाद्य सुरक्षाको अभियानलाई बल पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूसँग सहकार्यमा अन्तरक्रिया, प्रचार–प्रसार र लेख–रचना प्रकाशन कार्यक्रम पनि सञ्चालन हुनेछन्।

संयुक्त राष्ट्रसङ्घको २०औँ साधारण सभाले सन् १९७९ मा खाद्य तथा कृषि सङ्गठन (एफएओ) को स्थापना दिवसको स्मरणमा प्रत्येक वर्ष विश्व खाद्य दिवस मनाउने निर्णय गरेको थियो। त्यसयता सन् १९८१ देखि हरेक वर्ष अक्टोबर १६ का दिन यो दिवस विश्वभर मनाइँदै आएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *