नेपाल अपराजित रहँदै विश्वकप छनोटको च्याम्पियन

 नेपाल अपराजित रहँदै विश्वकप छनोटको च्याम्पियन

काठमाडौँ । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जित्दै ऐतिहासिक सफलता हासिल गरेको छ। नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो।

शुक्रबार सम्पन्न अन्तिम खेलमा नेपालले सामोआलाई १२४ रनले पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाएको हो। समूह चरणदेखि सुपर सिक्ससम्मका सबै खेल जित्दै नेपालले उत्कृष्ट प्रदर्शन गरेको हो।

नेपालले टस गुमाएर पहिले ब्याटिङ गर्दै २० ओभरमा ४ विकेटको क्षतिमा २११ रन बनायो। आसिफ शेखले ४१ बलमा ७ चौका र ४ छक्कासहित ६९ रन बनाउँदै शानदार प्रदर्शन गरे भने दीपेन्द्रसिंह ऐरीले ५३ रनको अर्धशतक प्रहार गरे। अन्त्यतिर लोकेश बमले ११ बलमा विस्फोटक ३९ रन बनाए।

जवाफमा सामोआले २० ओभरमा ७ विकेट गुमाएर ८७ रन मात्र बनाउन सक्यो। नेपालका ललित राजवंशीले ३ विकेट लिए भने करण केसी, सन्दीप लामिछाने र रोहित पौडेलले समान १–१ विकेट हात पारे।

यस जितसँगै नेपालले ११ वर्षपछि आईसीसीको उपाधि जितेको छ। यसअघि सन् २०१४ मा नेपालले डिभिजन ४ को उपाधि हात पारेको थियो।

समूह चरणमा नेपालले कुवेत र जापानलाई पराजित गरेको थियो। सुपर सिक्समा प्रवेश गरेपछि नेपालले यूएईमाथि १ रन, कतारमाथि ५ रन र ओमानमाथि ३८ रनको जित दर्ता गर्दै अपराजित यात्रा कायम राख्यो।

छनोट प्रतियोगिताबाट नेपालसहित यूएई र ओमानले आगामी वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने टी–२० विश्वकपका लागि टिकट पक्का गरेका छन्।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *