द राइजिङ स्टार युवा क्लबको चौथो वार्षिकोत्सवमा भलिवल प्रतियोगिता तथा विविध कार्यक्रम सम्पन्न

 द राइजिङ स्टार युवा क्लबको चौथो वार्षिकोत्सवमा भलिवल प्रतियोगिता तथा विविध कार्यक्रम सम्पन्न

गुल्मी, असोज २८। “समाज रूपान्तरणका लागि युवाहरूको एकैबद्धता” भन्ने मूल नाराका साथ विसं २०७८ साल असारमा स्थापना भएको द राइजिङ स्टार युवा क्लबले आफ्नो चौथो वार्षिक उत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

कार्यक्रम २०८२ असोज २६, २७ र २८ गते तीन दिनसम्म सञ्चालन गरिएको थियो। पहिलो दुई दिन अर्थात् असोज २६ र २७ गते क्लबले खुल्ला राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता सम्पन्न गरेको थियो।

भलिबलतर्फ सिर्जनशील युवा क्लब मुसिकोटले प्रथम स्थान हासिल गर्न सफल भयो भने उपविजेता युनिक स्टार युवा क्लब बन्यो।

प्रथम पुरस्कार क्लोथ एण्ड फुड बैंक नेपालका सञ्चालक कमल जिसीले प्रदान गर्नुभएको थियो भने दोस्रो पुरस्कार हाइ स्पिड अटोमोबाइल्सका सञ्चालक भरत महतले प्रदान गर्नुभएको थियो।

कार्यक्रमको तेस्रो दिन पश्चिम गुल्मीको नौलो खेलहरू— भाले समात्ने, घैँटो फोर र कुर्चीदौड प्रतियोगिता— आयोजना गरिएको थियो।

भाले समात्ने प्रतियोगितामा दीपक कुँवर, कुर्चीदौडमा मानबहादुर नेपाली र घैँटो फोरमा कुमार बिक विजेता बनेका थिए।

क्लबका अध्यक्ष पुष्कर पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा वडा अध्यक्ष डालबहादुर कुँवर तथा छिमेकी गाउँपालिकाका जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

यसैगरी कार्यक्रममा इस्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण महत विशेष अतिथि रहनुभएको थियो ।

विविध कार्यक्रम अन्र्तगत सांस्कृतिक प्रस्तुतिमा लोक तथा दोहोरी गायक हरि खत्री, पायल खनाल, बासु पोखरेल, गगनसिंह सिन्जालीलगायतका स्थानीय कलाकारहरूले आकर्षक प्रस्तुति दिएका थिए।

स्थापना दिवसका अवसरमा क्लबले शताब्दी पुरुष शिवलाल गौतम र जेष्ठ नागरिक सम्मान कार्यक्रम समेत गरेको थियो ।
कार्यक्रममा क्लबका अध्यक्ष पोखरेलले स्थापनाकालदेखि हालसम्मको प्रतिवेदन प्रस्तुत गर्दै युवालाई देशमै स्वरोजगार बनाउन गाउँपालिकासँग “युवा उद्यमी कार्यक्रम” सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए।

उनले हाल युवाहरूमाझ बढ्दो विदेशमुखी प्रवृत्तिलाई रोक्न उद्यमशीलता र आत्मनिर्भरता कार्यक्रमहरू आवश्यक रहेको बताएका छन् ।

त्यसैगरी, इस्मा गाउँपालिका–६ अमरपुर स्वास्थ्य चौकीका लागि अत्यावश्यक एम्बुलेन्सको मागबारे क्लबले उठाएको विषयमा गाउँपालिका अध्यक्ष खड्काले यो वर्षभित्रै एम्बुलेन्स उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

क्लबले आगामी वर्षमा पनि युवा सहभागिता, खेलकुद र सामाजिक चेतना अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *