तिहार आजदेखि सुरु, भाइटिकाको शुभ साइत बिहान ११ः३९ बजे

 तिहार आजदेखि सुरु, भाइटिकाको शुभ साइत बिहान ११ः३९ बजे

तिहार आजदेखि सुरु, आज धनतेरस र यमदीपदान

काठमाडौं । आजदेखि नेपालीहरूको दोस्रो ठूलो चाड तिहार पर्व सुरु भएको छ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज दिउँसो १ः२३ बजेपछि त्रयोदशी तिथि लाग्ने भएकाले आज धनतेरस (धन त्रयोदशी) पर्व मनाउनुपर्ने भएको हो। यसै दिनदेखि यमदीपदान पनि सुरु हुने समितिका सदस्य धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए।

समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार सायङ्कालमा त्रयोदशी परेका दिन धन त्रयोदशी र यमदीपदान गर्ने, र प्रातःकालमा त्रयोदशी परेका दिन काग तिहार मनाउने शास्त्रीय मान्यता रहेको छ। यस अनुसार, काग तिहार आइतबार परेको छ।

यमपञ्चकका अवसरमा यमदीपदान गरे यमयातनाबाट मुक्ति पाइने विश्वास छ। धनवन्तरी जयन्ती पनि आइतबारकै दिन परेको समितिले जनाएको छ।
तिथिको घटबढका कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ।

प्रा. तोयराज नेपालका अनुसार यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा दक्षिण फर्काएर गर्नुपर्ने हुन्छ। यो विधि कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया (भाइटिका) सम्म गरिन्छ।

कात्तिक २ गते आइतबार बिहान नरक स्नान गरी कुकुर तिहार मनाइने र बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिले जनाएको छ। यस दिन बिहान अपामार्गसहित स्नान गरी बत्ती बालेर नदीमा बगाउने परम्परा छ, जसले नरकको यातना टर्ने विश्वास गरिन्छ।

यस वर्ष कात्तिक ३ गते दिउँसो २ः५२ बजेपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि सोही दिन रातमा गरिनेछ।
कात्तिक ४ गते मङ्गलबार औँसी दिउँसो ४ः२९ बजेसम्म पर्ने भएकाले सो दिन कुनै विशेष पर्व छैन।

गाई, गोरु र गोवर्द्धन पूजा तथा आत्म (म्ह) पूजा भने कात्तिक ५ गते बुधबार मनाइनेछ। सो दिन नेपाल संवत् ११४६ सुरु हुनेछ।

अन्तिम दिन कात्तिक ६ गते बिहीबार भाइटिका लगाइनेछ। समितिका सदस्य लक्ष्मण पन्थीका अनुसार भाइटिकाको शुभ साइत बिहान ११ः३९ बजे रहेको छ। भाइटिकाको क्रममा दाजुभाइ पश्चिम फर्केर र दिदीबहिनी पूर्व फर्केर बस्ने परम्परा शास्त्रीय रूपमा स्थापित छ।

सर्वसाधारणका लागि मध्याह्न समयमा टीका लगाउनु पनि शास्त्रसम्मत हुने समितिले जनाएको छ। भाइपूजा (किजापूजा) पनि सोही दिन मनाइनेछ।

तिहारलाई झिलिमिलीको पर्व पनि भनिन्छ। एक हप्ता अघिदेखि नै राजधानी र प्रमुख सहरहरूमा घर–घरमा बत्ती बाल्ने र दीपावलीको उज्यालोले सहर उज्यालो बनाउने क्रम सुरु भइसकेको छ।
बडादसैंमा सुनसान हुने काठमाडौं उपत्यका तिहारमा झिलिमिली र उत्सवमय वातावरणले भरिने गर्छ।

लक्ष्मीपूजाका दिन भैलो र गोवर्द्धन पूजाका दिन देउसी खेल्ने चलन छ। विशेषगरी कर्णाली र सुदूरपश्चिमका क्षेत्रमा भने कोजाग्रत पूर्णिमादेखि नै देउसी–भैलो सुरु गर्ने परम्परा रहेको छ।

तिहारको समयमा कौडा, लङ्गुर बुर्जा, तास लगायतका खेल खेल्ने परम्परा पनि रहिआएको छ।
नेपाल प्रहरीले भने यस वर्ष पनि पटाका नपड्काई सभ्य रूपमा पर्व मनाउन सर्वसाधारणलाई आह्वान गरेको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *