बंगालको खाडीको ‘मोन्था’ चक्रवातको प्रभाव : बाढी, हिमपात र पहिरोको उच्च जोखिम

 बंगालको खाडीको ‘मोन्था’ चक्रवातको प्रभाव : बाढी, हिमपात र पहिरोको उच्च जोखिम

बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभाव बिहीबार दिउँसोदेखि नेपालमा देखिन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागले जारी गरेको विशेष बुलेटिनअनुसार उक्त चक्रवातको प्रभाव तीन दिनसम्म रहने अनुमान गरिएको छ। मंगलबार राति भारतको आन्ध्र प्रदेशमा प्रवेश गर्ने क्रममा रहेको चक्रवात बिस्तारै कमजोर हुँदै उत्तर–उत्तर पश्चिम सर्दै नेपालको मध्य र पूर्वी भूभाग नजिक पुग्नेछ।

यस प्रणालीको प्रभावले बिहीबार दिउँसोदेखि शनिबार बिहानसम्म बागमती, मधेश र कोशी प्रदेशको मौसम उल्लेख्य रूपमा प्रभावित हुनेछ।

विभागका अनुसार मधेश र कोशी प्रदेशका धेरै स्थानमा तथा बागमती प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ भने गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भागमा हल्का वर्षा हुन सक्छ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात हुन सक्ने चेतावनी दिइएको छ। चक्रवातका कारण नदी–नालामा आकस्मिक बहाव बढ्ने, बाढी र पहिरोको जोखिम उच्च रहने विभागले जनाएको छ।

हालको विश्लेषणअनुसार बागमती, कमला, कोशी र कन्काई नदी तथा तिनका सहायक नदीहरूमा बहाव उल्लेख्य रूपमा बढ्ने र सतर्कता तहसम्म पुग्न सक्ने देखिएको छ।

बागमती प्रदेशका काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली, मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी र कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी जिल्लामा आकस्मिक बहावको सम्भावना उच्च देखिएको छ।

सम्भावित वर्षा र हिमपातका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात, कृषि र पर्यटन क्षेत्रमा समेत असर पर्न सक्ने भएकाले सम्बन्धित निकाय र आम नागरिकलाई विशेष सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

विभागले अद्यावधिक जानकारी र पूर्वसूचना आफ्ना वेबसाइट, सामाजिक सञ्जाल तथा टोल–फ्री नम्बर ९११५५० मार्फत प्राप्त गर्न सकिने जनाएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *