वि.पी. राजमार्ग पुनर्निर्माणमा जापानको सहयोग
काठमाडौं, कार्तिक १३, २०८२ – नेपाल सरकार र जापान सरकारबीच वि.पी. राजमार्गको बाढी प्रभावित भागको पुनर्निर्माण र मर्मतसम्भारका लागि अनुदान सम्झौतामा हस्ताक्षर भएको छ।
अर्थ मन्त्रालयमा आयोजित हस्ताक्षर समारोहमा अर्थ मन्त्री रामेश्वर खनाल र गृहमन्त्री ओम प्रकाश अर्याल सहभागि थिए ।
वि.पी. राजमार्ग, महोत्तरी जिल्लाको बर्दिबासदेखि काभ्रेपलाञ्चोक जिल्लाको धुलीखेलसम्म १५९ किलोमिटर लम्बाई भएको राष्ट्रिय महत्वको मार्ग हो।
गत वर्षको विनाशकारी बाढी र पहिरोले राजमार्गका विभिन्न खण्डलाई गम्भीर क्षति पुर्याएको थियो, विशेषगरी रोशी नदी आसपासका क्षेत्र पूर्ण रूपमा नष्ट भएका थिए।
जापान सरकारले क्षतिग्रस्त राजमार्गको पुनर्निर्माणका लागि २ अर्ब ८० करोड जापानी येन करिब २ अर्ब ६० करोड नेपाली रुपैयाँ बराबरको अनुदान सहयोग प्रदान गरेको छ।
अनुदान सम्झौतामा नेपाल तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र जापान तर्फबाट नेपालका लागि राजदूत तोरु माएदा ले हस्ताक्षर गर्नुभयो।
