मोन्था चक्रवातको प्रभाव आज साँझसम्म, भारी वर्षा र हिमपात

 मोन्था चक्रवातको प्रभाव आज साँझसम्म, भारी वर्षा र हिमपात

बंगालको खाडीमा विकसित भएको चक्रवात मोन्था हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रुपमा रहेको छ। त्यस प्रणालीको कारणले नेपालको मौसम शुक्रबार साँझसम्म प्रभावित हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

शुक्रबार साँझपश्चात मौसममा क्रमिक रुपमा सुधार हुने देखिएको महाशाखाले जानकारी दिएको छ।

यसका साथै नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको महाशाखाले बताएको छ। महाशाखाले हाल कोशी, मधेस , बागमती,  गण्डकी प्रदेशका धेरै स्थानहरूमा साथै लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको बताएको छ।

शुक्रबार दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहनेछ। बाँकी प्रदेशमा साधारणतया बदली रहने महाशाखाले बताएको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षाको साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।

त्यस्तै कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ।

पछिल्लो १२ घन्टामा मोरङको हरैँचामा धेरै भारी वर्षा भएको छ। त्यहाँ १४०.६ मिलिमिटर वर्षा भएको छ। त्यस्तै सप्तरीको बरमझियामा १०५.६, उदयपुरगढीमा ८३.२, गाईघाटमा ७४, मुर्कुची बजारमा ७३.६, चुरेमाईमा ७२.४, लाहानमा ७१.६ मिलिमिटर वर्षा भएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *