काँग्रेस निर्वाचनमा जाने : बैठकको निष्कर्ष अहिलेको निकासनै निर्वाचन
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ललितपुर, ६ मङ्सिरः नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठक । तस्बिरः गोपाल दाहाल÷रासस
नेपाली कांग्रेसले देशमा उत्पन्न वर्तमान अवस्थाको उचित राजनीतिक निकास निर्वाचन नै भएको निष्कर्ष निकाल्र्दै निर्वाचनमा भाग लिने निर्णय गरेको छ ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज पार्टी केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन नै वर्तमान राजनीतिक अवस्थाको उचित निकास निर्वाचन नै भएकाले पार्टीले भाग लिने निर्णय गरेको हो ।
यही असोज २८ मा प्रारम्भ भएको बैठकपछि पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ,“निर्वाचनमार्फत नै संविधानको रक्षा तथा जेनजी प्रदर्शनका क्रममा परिवर्तनका लागि उठाइएका आवाजलाई संस्थागत रूप दिँदै देशलाई अघि बढाउन सकिन्छ भन्ने हाम्रो दृढ विश्वास छ ।
निर्वाचनका लागि भयरहित वातावरण अपरिहार्य छ, तर हाल हजारौँ कैदीबन्दी फरार रहेका, ठूलो परिमाणमा हातहतियार हराएका, राजनीतिक दलहरूले निर्बाध रूपमा आफ्ना कार्यक्रम सञ्चालन गर्न नपाइरहेका र निर्वाचनका लागि आवश्यक न्यूनतम अवस्था पनि स्थापित हुन नसक्नुलगायत सबै परिस्थितिहरू अत्यन्त गम्भीर छन् ।
गत भदौ २४ गते मुलुकमा अकल्पनीय विध्वंश र अराजकताको अवस्था सिर्जना भएको जटिल परिस्थितिमा तत्कालीन सङ्कटबाट देशलाई बाहिर निकाल्ने र संविधानको संरक्षण गर्ने प्रश्न अत्यन्त संवेदनशील बनेको स्मरण गर्दै कांग्रेसले सरकारविहीन अवस्थाका बीच प्रदर्शनरत युवाहरूको माग सम्बोधन र शान्तिसुरक्षा कायम गर्न राष्ट्रपतिले संसद् बाहिरबाट अन्तरिम प्रधानमन्त्री नियुक्त गर्नुपर्ने अवस्था आएको उल्लेख गरेको छ ।
बैठकले विद्यमान शान्तिसुरक्षाको अवस्था र पछिल्ला दिनमा बढिरहेका उत्तेजक तथा अराजक गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।
निर्वाचनलाई निष्पक्ष, विश्वसनीय र भयरहित बनाउनका लागि निर्वाचन आयोग, सरकार एवं सम्बद्ध पक्षलाई आवश्यक वातावरण निर्माण गर्न कांग्रेसले जोडदार माग गरेको छ ।
कांग्रेसले प्रदर्शनका क्रममा भएका तोडफोड, आगजनी, लुटपाट, कुटपिटका घटनालाई अराजनीतिक, आपराधिक र पूर्ण रूपमा विध्वंशकारी भनेको छ ।
यसैगरी आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने निर्णय गर्दै सो प्रयोजनका लागि केन्द्रीय कार्यालयका मुख्य सचिवलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ ।
बैठकले जेनजी प्रदर्शनमार्फत परिवर्तनका लागि मुखरित आवाजको सम्बोधन गर्न बहुपक्षीय राष्ट्रिय संवाद अत्यावश्यक रहेको ठहर गर्दै सुशासन र पारदर्शितालगायत विषयमा सबै पक्षसँग संवाद गरी सहमति कायम गर्र्ने, संविधानको मर्म र मूल्यमान्यताबमोजिम रूपान्तरणसहित देशलाई शान्ति, समुन्नति र स्थिरताको दिशातर्फ अघि बढाउन साझा समझदारी आवश्यकका लागि पहल गर्ने निर्णयसमेत गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही मङ्सिर ११ गते बिहीबार दिउँसो २ः०० बजे पुनः बस्ने जनाइएको छ ।
