जापानले साढे ३१ अर्ब सहुलियतपूर्ण ऋण दिने

 जापानले साढे ३१ अर्ब सहुलियतपूर्ण ऋण दिने

काठमाडौँ । नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजना सञ्चालनका लागि ऋण सम्झौतामा हस्ताक्षर गरिएको छ। अर्थमन्त्री रामेश्वर प्रसाद खनालको उपस्थितिमा अर्थ मन्त्रालयमा आयोजित समारोहमा आज सम्झौतामा हस्ताक्षर भएको हो ।

जापानले जाइकामार्फत ३४.५९ अर्ब जापानी येन (करिब रु. ३१.७६ अर्ब) बराबरको ऋण उपलब्ध गराउने भएको छ। ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र वार्षिक ब्याजदर ०.२ प्रतिशत रहनेछ ।

यस आयोजनाअन्तर्गत कोटेश्वर र जडीबुटी खण्डमा अन्डरपास र फ्लाइओभर निर्माण गरिने छ। यसले काठमाडौँ, ललितपुर, भक्तपुर तथा वि.पी. राजमार्ग हुँदै चल्ने सवारीसाधनको आवागमन सहज बनाउने र ट्राफिक जाम घटाउने अपेक्षा गरिएको छ। आयोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागमार्फत कार्यान्वयन हुनेछ।

ऋण सहायता सम्बन्धी एक्सचेन्ज अफ नोटमा अर्थ सचिव डा. घनश्याम उपाध्याय र जापानी राजदूत मायदा तोरुले हस्ताक्षर गरे। त्यस्तै ऋण सम्झौतामा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख सहसचिव डा. धनीराम शर्मा र जाइका नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी माजुकीले हस्ताक्षर गरेका हुन्।

हस्ताक्षरपछि जाइका नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी माजुकी, राजदूत मायदा तोरु र अर्थमन्त्री खनालले द्विपक्षीय सहकार्यलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन।

 

 

 

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *