चलचित्र विधेयकलाई समृद्ध बनाउन बोर्डका अध्यक्ष दाहालकोआग्रह
काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश दाहालले चलचित्र क्षेत्रमा बैंक ऋण तथा वैदेशिक लगानी बढाउन सहज हुनेगरी चलचित्र विधेयकलाई समृद्ध बनाउन आग्रह गरेका छन् ।
शुक्रबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठकमा चलचित्र विधेयकमाथिको छलफलमा बोल्दै अध्यक्ष दाहालले प्रस्ट नीतिको अभावमा चलचित्र क्षेत्रले समस्या झेल्नुपरेको बताउँदै विधेयकलाई छिटो टुंगोमा पुर्याउनु पर्नेमा जोड दिए ।
दाहालले बैंकहरूले चलचित्रलाई बौद्धिक सम्पत्ति धितोका रूपमा मान्यता नदिँदा उद्योग नै जोखिममा परेको बताए । चलचित्रमा लगानी जोखिमपूर्ण हुने सोचका कारण बैंकहरूले ऋण दिन आनाकानी गर्ने अवस्था रहेको बताउँदै यसलाई केही सरल बनाउनुपर्ने उनको भनाइ थियो ।
उनले चलचित्रकर्मीका लागि चलचित्र नै बौद्धिक सम्पत्ति रहेको उल्लेख गर्दै बैंकले धितोका रूपमा स्वीकार गर्नुपर्ने धारणा राखे ।
चलचित्र पूर्ण रूपमा सांस्कृतिक सामग्री मात्र नभई सञ्चारको शक्तिशाली माध्यम भएको उल्लेख गर्दै मातृभाषामा बनेका चलचित्रका लागि बोर्डले सेन्सर शुल्क हटाउनेगरी काम गरिरहेको जानकारी पनि दिए ।
उनले भने, “बैंकले चलचित्रमा लगानी गर्दा चलचित्रले फाइदा नै गर्छ भन्ने कुरा नभएको हुनाले विदेशमा पनि बैंकले नै लगानी गर्दैन । एउटा सहकारीजस्तो बनाएर गर्ने गरेका छन् । तर, बैंकले लगानी गर्दैन, कि कुनै धितो मात्र राखेर गर्छ । हामी चलचित्रकर्मीका लागि चलचित्र नै बौद्धिक सम्पत्ति हो ।”
