निर्वाचन सार्नु भनेको देशलाई अनिश्चयको दिशामा लैजानु हो: अर्थमन्त्री खनाल
काठमाडौँ। अर्थमन्त्री रामेश्वर खनालले लोकतन्त्रलाई संस्थागत गर्नको निमित्त निर्वाचन अपरिहार्य रहेको बताएका छन् ।
काठमाडौँमा आइतबार नेपाल आर्थिक पत्रकार समाज (नाफिज) को १६औँ वार्षिक साधारण सभामा उनले वर्तमान सरकारलाई तीन वटा काम पूरा गर्नुपर्ने दायित्व रहेको र त्यसमध्ये एउटा निर्वाचन भएको बताएका छन ।
निर्वाचनको मिति सार्नु भनेको मुलुकलाई अनिश्चयको दिशामा लैजानु रहेको उनको भनाइ छ ।
अनिश्चयले युवालाई थप निराश बनाउने उनको तर्क छ । संविधान बमोजिम समयमा निर्वाचन गर्नुपर्ने दायित्व वर्तमान सरकारको रहेको उनले बताएका छन ।
मुलुक अहिले परिवर्तनको संघारमा रहेको तर परिवर्तन भई नसकेको भन्दै उनले जेन जेड आन्दोलन आर्थिक समृद्धिको लागि नभई भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि भएको बताएका छन ।
‘अहिले हाम्रो मुलुक परिवर्तनको संघारमा छ । परिवर्तन भइसकेको छैन । त्यसका त्यसका तरंगहरू अझै पनि छन् । त्यो तरंगले हामीलाई गलत दिशामा नपुर्याओस् भन्नुको निमित्त खासगरी जेन जेड आन्दोलन भनेको आर्थिक समृद्धिका लागि थियो भन्ने कुरा मैले बुझेको छैन ।
अर्थमन्त्री खनालले समाजमा रहेका गलत जुनसुकै क्रियाकलापलाई पनि नियन्त्रण गर्नैपर्ने बताएका छन् ।
