रास्वपामा प्रत्यक्षतर्फ उम्मेदवारका लागि आवेदन शुल्क २५ हजार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार छनोट गर्न उम्मेदवारी आह्वान गरेको छ।
उमेदवार छनोट समितिका अनुसार आजदेखि उमेदवारी आवेदन खुला गरिएको छ । आवेदन रास्वपाको आधिकारिक मोबाइल एपमार्फत् दिन सकिने व्यवस्था गरिएको छ । साथै इच्छुक उम्मेदवारका लागि रास्वपाले आवेदन शुल्क २५ हजार रुपैयाँ तोकेको छ।
पार्टीले आइतबार जारी गरेको विज्ञप्तिअनुसार, योग्यता पुगेका इच्छुक पार्टी सदस्यहरूले आर्थिक अभावका कारण आवेदन शुल्क तिर्न नसक्ने अवस्था भएमा आफ्नो आवेदनसाथ तोकिएका कागजातहरू अनिवार्य रूपमा पार्टी केन्द्रीय कार्यालय वा इमेलमार्फत उम्मेदवार छनोट समितिमा पेस गर्नुपर्नेछ।
