सरकारले भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्ने छ: प्रधानमन्त्री कार्की
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्ने बताएकी छिन्। भ्रष्टाचारविरुद्धको २२ औँ अन्तरराष्ट्रिय दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा कार्कीले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि नहट्ने बताएकी हुन्।
उनले सरकारले नियमित कार्य सँगसँगै सुशासनका निमित्त तीब्र गतिमा काम गरिरहेको दाबी गरिन्। भ्रष्टाचारविरुद्ध जस्ता सुकै कदम चाल्न पनि आफूहरु तयार रहेको उनको भनाइ छ।
‘जेनजीका माग र अपेक्षा बमोजिमका आशातीत उपलब्धि हासिल हुन समय लाग्ला तर भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि हट्ने छैन। यसका निम्ति राज्यका स्थापित संयन्त्र क्रियाशील भइसकेका छन्, प्रधानमन्त्री कार्कीले अगाडि भनिन्, ‘यस दिशामा चालिएका कदमबाट अत्तालिएर कतिपय तत्त्वले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा धम्क्याए पनि हामी डराउँदैनौँ।’
सम्बन्धित निकायका पदाधिकारी र राष्ट्र सेवकहरुलाई पनि कत्ति पनि विचलित नभई निर्धक्कसँग आफ्नो व्यावसायिक स्वतन्त्रता उपयोग गरी अघि बढ्न कार्कीले निर्देशन दिइन्।
