पर्साको ठोरीबाट ९१ केजी गाँजा बरामद
काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल पर्साले पर्साको ठोरी गाउँपालिकाबाट अवैध ९१ किलोग्राम गाँजा बिहीबार बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म सुवर्णपुरबाट खटिएको टोलीले पर्साको ठोरीबाट भारततर्फ लैजाँदै गरेको सो परिमाणको गाँजा बरामद गरेको हो । प्रहरीले नेपालतर्फबाट भारत लैजान खोज्दै गरेको १० प्लाष्टिकका पोकामा रहेको गाँजा बरामद गरेको जनाएको छ ।
बरामद भएको गाँजालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरेर इलाका प्रहरी कार्यालय ठोरीमा बुझाइएको प्रहरीले बताएको छ । सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा हुने चोरी तस्करी तथा लागूऔषध ओसारपसार कार्यलाई निस्तेज पार्ने अभियान तीव्र पार्दै आइरहेको जनाएको छ ।
