रुकुम-पश्चिमबाट कांग्रेसका दुई उम्मेदवार सिफारिस
काठमाडौँ । नेपाली कांग्रेस रुकुम-पश्चिमले आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । जिल्ला कार्यसमितिको लामो विवाद पछि प्रत्यक्षतर्फ दुई जनाको नाम सिफारिस गरिएको हो ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ वर्तमान जिल्ला सभापति प्रेमप्रकाश ओली र नेता गोपालजीजंग शाहको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ मानबहादुर नेपाली र मनिषा भण्डारीको नाम सिफारिस गरिएको छ भने राष्ट्रियसभाका लागि वीरबहादुर ओलीको नाम सिफारिस गरिएको छ । सूचीमा राखिएको छ ।
मंसिर २४ गतेदेखि छलफल सुरु गरेर सर्वसम्मत उम्मेदवार चयन गर्ने प्रयास गरिएपनि सहमति जुट्न सकेन । यो सिफारिसप्रति महामन्त्री गगन थापा समूहका नेताहरुले असहमति जनाएका छन् । असहमति हुँदाहुँदै पनि संस्थापन पक्षले एकलौटी निर्णय गर्दै सिफारिस केन्द्रमा पठाएको नेताहरूले बताएका छन् ।
कार्यसमिति बाहिरका आकांक्षीहरू राजु केसी र शिव आचार्यले पनि निर्णय प्रक्रियामा असहमति जनाएका छन् । पूर्व महाधिवेशन प्रतिनिधि समेत रहेका केसीले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दाबी गरेका थिए । उनले सामाजिक सञ्जालमार्फत संस्थापनको निर्णय विरुद्ध प्रतिवाद गरेका छन् ।
जिल्ला सभापति प्रेमप्रकाश ओली संस्थापन पक्षमा हुन् । जिल्ला कार्यसमितिमा उनी पक्षको बहुमत छ । इतर पक्षका आकांक्षीहरूको विरोध र असहमति रहेपनि कार्यसमितिको बहुमतले ओली र शाहसहितको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
