सिटिजन लाइफ इन्स्योरेन्सद्वारा बैंक खाता र प्यान नम्बर अद्यावधिक गर्न शेयरधनीलाई आग्रह
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरूलाई बैंक खाता विवरण तथा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न आग्रह गरेको छ।
कम्पनीको वार्षिक साधारण सभाबाट पारित हुने नगद लाभांश समयमै, सरल र सुरक्षित रूपमा वितरण गर्नका लागि बैंक खाता तथा प्यान नम्बर अनिवार्य रूपमा अद्यावधिक हुनुपर्ने जनाएको हो।
कम्पनीले लाभांश वितरणका क्रममा कर कट्टी तथा नियामक निकायका निर्देशनअनुसार शेयरधनीहरूको बैंक खाता विवरण र प्यान नम्बर आवश्यक पर्ने भएकाले हालसम्म विवरण अद्यावधिक नगरेका सम्पूर्ण शेयरधनीलाई शीघ्र विवरण अद्यावधिक गर्न अनुरोध गरेको छ।
सूचनाअनुसार, शेयरधनीहरूले आफ्नो हितग्राही खाता रहेको डिपोजिटरी पार्टिसिपेन्ट (DP) मार्फत बैंक खाता विवरण र प्यान नम्बर अद्यावधिक गर्नुपर्नेछ। यस कार्य समयमै नगरेमा लाभांश वितरणमा ढिलाइ हुन सक्ने कम्पनीले स्पष्ट पारेको छ।
कम्पनीको शेयर रजिस्ट्रारका रूपमा एनआइएमबी एसीई क्यापिटल लिमिटेड रहेको छ।

