प्रज्ञा–प्रतिष्ठानमा पुरानादेखि नयाँसम्मका पुस्तक प्रदर्शनी सुरु

 प्रज्ञा–प्रतिष्ठानमा पुरानादेखि नयाँसम्मका पुस्तक प्रदर्शनी सुरु

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा पुरानादेखि नवीनतम कृतिसम्म समेटिएको पुस्तक प्रदर्शनी सुरु भएको छ।

“सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञा–प्रतिष्ठान” भन्ने उद्घोषसहित प्रतिष्ठानका कुलपति भूपाल राईले भानुभक्त कक्षमा रातो रिबन काटेर प्रदर्शनीको उद्घाटन गर्नुभएको हो।

पुस ११ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा पुस्तक खरिद गर्ने व्यक्ति तथा संस्थालाई १५ देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ।

प्रदर्शनीमा अमरकोश, नेपाली साहित्यकोश, कौटिल्यको अर्थशास्त्र, जाँ ज्याक रुसोको कन्फेसन्स, ईशादी नौ उपनिषद्, ग्रिक महाकवि होमरको ओडिसी, हरेराम जोशीको प्राचीन अभिलेख, गुमानसिंह चाम्लिङको एरिस्टोटल र उनका काव्यशास्त्र ‘पेरी पोइएतिकेस’ लगायतका महत्त्वपूर्ण कृतिहरू प्रदर्शनीमा राखिएका छन्।

यस प्रदर्शनीमा नेपाली भाषा, साहित्य, संस्कृति, कला, इतिहास, दर्शनशास्त्र र समाजशास्त्रसँग सम्बन्धित पुराना तथा नयाँ पुस्तकहरू समेटिएका छन्।

साथै, अनुसन्धानात्मक कृति, संस्कार–संस्कृतिसम्बन्धी सामग्री तथा विभिन्न मातृभाषाका शब्दकोशहरू पनि उपलब्ध छन्।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *