नेकपा र रञ्जिताको नागरिक उन्मुक्तिबीच एकीकरण

 नेकपा र रञ्जिताको नागरिक उन्मुक्तिबीच एकीकरण

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच सोमबार एकीकरण गर्ने सहमति भएको छ ।

फागुन २१ गतेको निर्वाचनका लागि दलहरूले निर्वाचन आयोगमा समानुपातिक सूची बुझाउँदै गर्दा यी दुई दलबीच एकता भएको हो ।

यी दुई दलको एकताको सहमतिमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण र समाजवादको दिशामा अगाडि बढ्ने साझा लक्ष्यसहित दुवै पार्टीबीच सहमति पत्रमा हस्ताक्षर भएको हो ।

सहमति अनुसार एकीकरणपछि पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ रहनेछ भने चुनाव चिह्न तारा नै हुनेछ । दुवै पार्टीबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि स्वतः नेपाली कम्युनिष्ट पार्टीका सदस्य हुनेछन् ।

नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय समिति लगायत सबै संरचना र जनवर्गीय संगठन आपसी सहमतिमा नेपाली कम्युनिष्ट पार्टीमा समायोजन गरिने उल्लेख छ ।

सहमति पत्रमा विगतका अनुभवको वस्तुनिष्ठ समीक्षा गर्दै संघीयता, सुशासन, समृद्धि र सामाजिक न्यायमार्फत समाजवादतर्फ अघि बढ्ने प्रतिबद्धता जनाइएको छ ।

मुलुकको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा गर्दै पहिचान र अधिकारसहितको संघीय समाजवादी गणतन्त्र स्थापनाका लागि सडक, सदन र सरकार तीनवटै क्षेत्रबाट संघर्ष गर्ने सहमति भएको छ ।

दुवै पार्टीले संघीय शासन प्रणाली, लोकतान्त्रिक मूल्य मान्यता, वर्गीय, जातीय, क्षेत्रीय र लिङ्गीय विभेदको अन्त्य गर्दै समतामूलक र न्यायपूर्ण समाज निर्माणलाई पार्टी कार्यक्रमका रूपमा अघि बढाउने जनाएका छन् । पार्टी सञ्चालन सामूहिक नेतृत्व, समावेशी प्रतिनिधित्व र जनवादी केन्द्रीयताको सिद्धान्तअनुसार हुने उल्लेख छ ।

सहमति पत्रमा संविधानका सकारात्मक पक्षको रक्षा गर्दै शासन प्रणाली, निर्वाचन प्रणाली र संघीय संरचनाको सुदृढीकरणका लागि संविधान संशोधन र अग्रगामी परिमार्जनमा पहल गर्ने विषय पनि समेटिएको छ ।

यसका साथै महिला, थारु, मधेसी, आदिवासी जनजाति, दलित, मुस्लिम, अल्पसंख्यक, पिछडिएको वर्ग र क्षेत्रका समुदायलाई राज्यका सबै तहमा समानुपातिक समावेशीकरण सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ ।

सहमति पत्रमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल र संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका छन् । यसलाई उनीहरूले अग्रगामी राजनीतिक परिवर्तनको महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेका छन् ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *