अष्ट्रेलियाको सिड्नीमा धर्म जागरण महा-सत्सङ्ग विशेष कार्यक्रम हुने
सिड्नी । धर्म जागरण महा सत्सङ्ग विशेष आध्यात्मिक कार्यक्रम सन् २०२६ जनवरी २, ३ र ४ तारिख अर्थात २०८२ पुस १८, १९ र २० गते अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने भएको छ।
योगी नरहरिनाथ एवं आदित्यनाथ फाउन्डेसन अष्ट्रेलियाको आयोजनामा हुन लागेको यस महा सत्सङ्गमा अन्तर्राष्ट्रिय कथावाचिका राधिकादेवी दासीको प्रमुख कथा प्रवचन रहने आयोजकले जानकारी दिएका छन्।
कार्यक्रम बिहान १०ः१५ बजेबाट बेलुकी ४ बजेसम्म सञ्चालन हुनेछ । ग्रान्ड प्यालेस फङ्सन सेन्टर परामाट्टा रोड, ओबर्न, सिड्नीमा हुने कार्यक्रममा नेपालबाट गुरु डा. भोलानाथ योगी विशेष अतिथिका रूपमा सहभागी हुनुहुने जनाइएको छ।
आयोजकका अनुसार यस महा सत्सङ्गको उद्देश्य योग दर्शन, सनातन धर्म, संस्कृति तथा प्रवासी नेपाली समुदायमा आध्यात्मिक चेतना अभिवृद्धि गर्नु रहेको छ।
कार्यक्रमको तयारी तीव्र रूपमा अगाडि बढिरहेको जनाउँदै सिड्नीमा यस प्रकारको धर्म जागरण महा सत्सङ्ग पहिलोपटक आयोजना हुन लागेको जानकारी दिइएको छ।
सनातन संस्कृति, धार्मिक चेतना र नेपाली आत्मपहिचानको संरक्षण तथा प्रवर्द्धनमा यस्तो कार्यक्रमले प्रवासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
संस्थाका अध्यक्ष नारायण शास्त्री पान्थिले सम्पूर्ण नेपाली समुदाय तथा श्रद्धालुहरूलाई उपस्थित भई कार्यक्रम सफल बनाउन अनुरोध गर्नुभएको छ ।
