ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सव, सामाजिक उत्तरदायित्वका कार्यक्रम घोषणा
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत देशभर १९ वटा कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ।
बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता, मानविय सहयोग तथा आयआर्जन अभिवृद्धिलाई प्राथमिकतामा राख्दै दुर्गम, गरिब, विपन्न तथा न्यून आय भएका समुदायलाई लक्षित गरी कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ।
स्वास्थ्यतर्फ ‘ग्लोबल आइएमई स्वस्थ नारी पहल’ अन्तर्गत सातै प्रदेशमा १४ वटा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। शिविरमा पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स उपचार, औषधि वितरण तथा आवश्यक परे दोस्रो चरणको शल्यक्रिया उपचारसमेत गरिनेछ।
त्यसैगरी, सात प्रदेशमा आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन गर्नुका साथै १,५०० विद्यार्थीलाई निःशुल्क चश्मा वितरण गरिनेछ। जटिल तथा दीर्घ रोगका बिरामीलाई स्थानीय तहको सिफारिसमा आर्थिक सहयोग प्रदान गरिने बैंकले जनाएको छ।
शिक्षा क्षेत्रमा छात्रवृत्ति, पुस्तकालय निर्माण, विद्यालय पोसाक तथा शैक्षिक सामग्री वितरण गरिनेछ भने वातावरण संरक्षणका लागि वृक्षारोपण, प्लास्टिक विस्थापन र सरसफाइ कार्यक्रम सञ्चालन गरिनेछ।
बैंकले ३५२ शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै विद्युतीय ठगी न्यूनीकरणमा समेत योगदान दिने जनाएको छ।
