मुस्लिम समुदायद्वारा वीरगञ्जको प्रहरी बिटमा तोडफोड, ५ राउण्ड अश्रुग्यास प्रहार

 मुस्लिम समुदायद्वारा वीरगञ्जको प्रहरी बिटमा तोडफोड, ५ राउण्ड अश्रुग्यास प्रहार

काठमाडौँ । धनुषामा शनिबार मस्जिद तोडफोड र कुरान जलाएको घटनाको विरोध लाई लिएर आइतबार वीरगञ्जमा प्रदर्शन भएको  छ ।

धनुषाको कमला नगरपालिकामा शनिबार भएको घटनाको विरोधमा वीरगञ्जका मुस्लिम समुदायले सडकमा टायर बालेर प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा गर्नुका साथै छपकैया प्रहरी बिटमा तोडफोड गरेपछि स्थिति तनावपूर्ण बनेको थियो।

भीडलाई तितरबितर पार्न र स्थिति नियन्त्रणमा लिन प्रहरीले जवाफी कारबाही गरेको हो। पर्सा प्रहरीकाका अनुसार प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गर्न थालेपछि ५ राउण्ड अश्रुग्यास प्रहार गरिएको हो। प्रहरीको कारबाहीपछि अहिले भने अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

वीरगञ्जको घण्टाघर, छपकैया लगायतका स्थानमा बिहानैदेखि प्रदर्शन भएको थियो। प्रदर्शनकारीले जनकपुर घटनाका दोषीलाई कारबाहीको माग गरेका छन्। अल्पसंख्यक समुदायमाथि आक्रमण गर्न नपाइने भन्दै उनीहरूले नाराबाजी समेत गरेका थिए।

धनुषाको कमला नगरपालिका–६, सखुवा मरानस्थित मुस्लिम टोलको मस्जिदमा शनिबार तोडफोड र धार्मिक ग्रन्थ जलाइएको थियो। यो घटनाको सुरुवात सामाजिक सञ्जालमा पोस्ट भएको एक भिडियोबाट भएको प्रहरीले जनाएको छ।

धनुषा प्रहरी प्रमुखका अनुसार सुरुमा दुई जना मुस्लिम युवकले हिन्दु समुदायको रक्षाबन्धन पर्वप्रति नकारात्मक सन्देश जाने भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। उक्त भिडियो बाहिरिएपछि आक्रोशित स्थानीय युवाहरूले दोषीमाथि कारबाहीको माग गर्दै प्रहरी चौकी घेराउ गरेका थिए।

प्रहरीले लगत्तै भिडियो पोस्ट गर्ने दुवै युवकलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले आरोपितहरूलाई पक्राउ गरेर कानुनी प्रक्रिया अगाडि बढाइरहेकै समयमा केही युवाको समूहले मस्जिदमा पुगेर आक्रमण गरेको प्रहरी प्रमुख कुँवरले बताए। सोही घटनाको प्रतिक्रिया स्वरूप आइतबार वीरगञ्जमा प्रदर्शन भएको हो।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *