जसपा नेपाल र लोसपाबीच एकता
काठमाडौ– मधेसकेन्द्रित दुई ठूला राजनीतिक दलबीच एकीकरण सहमतिमा हस्ताक्षर भएको छ ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा नेपाल) बीच पार्टी एकीकरण गर्ने औपचारिक सहमति भएको छ ।
दुवै पार्टीका अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरसहित पदाधिकारीहरूको काठमाडौंमा बसेको संयुक्त बैठकले यो निर्णय गरेको हो ।
एकीकरणको सम्झौता पत्रमा हस्ताक्षरसहित जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने, संघीयता, पहिचान, समानुपातिक समावेशिता, सामाजिक न्याय जस्ता अग्रगामी मुद्दालाई मजबुत गर्दै न्यायपूर्ण समाज निर्माण गर्न एकीकरण आवश्यक ठहरिएको छ ।’
