बाख्रा पालन गर्दा गर्नैपर्ने घाँस खेती

 बाख्रा पालन गर्दा गर्नैपर्ने घाँस खेती

काठमाडौँ । पशुपालन गर्ने किसानलाई घाँसको ठूलो महत्व रहेको हुन्छ । हाम्रो समाज पशुपालनमा बिस्तारै व्यवसायिक बन्दै गएको छ । जसमा गाई, भैसी, बाख्रालाई पहिलो आवश्यकता भनेमने नै घाँस हो । पशुपालनबाट राम्रो आम्दानी लिन घाँसमा ध्यान दिन सके किसानले ठूलो मात्रामा आर्थिक लगानी घटाउन सक्छन् । घाँस कम दिँदा दाना वा खोले बढी खुवाउनु पर्छ ।

जुन आर्थिक हिसाबले महंगो हुन्छ । किसानलाई आर्थिक बचत र पशुपालनबाट बढीभन्दा बढी लाभ लिन स्थानीय तथा उन्नत घाँस खेतीको विषयमा जान्न जरुरी छ ।

सामान्यतया घाँसलाई ५ प्रकारमा छुटयाउन सकिन्छ ।

१. डालेघाँस– भूँइघाँस प्रकृतिको आधारमा पृथ्बीमा डाले र भूँइ घाँस पाइन्छ । डाले भन्दा रुख घाँस भन्ने बुझिन्छ । टाँकी, बडहर, किम्बू, इपिल इपिल, बकाइनोजस्ता रुख हुने घाँस डाले घाँस हुन् । यी घाँस प्रायः हिउँदको समयमा काटिन्छ । डालेलाई रेशादार घाँस मानिन्छ ।

‘पशुपालन गर्ने व्यवसायीले दैनिक रुपमा डाले घाँस खुवाउनु पर्छ’ भनिन्छ । यस्ता डाले घाँसमा सामान्यतया १२ प्रतिशतदेखि ३२ प्रतिशतसम्म प्रोटिन पाइन्छ । भूँइमा हुने र आफै उम्रने घाँस नै भूँइ घाँस हुन् । बन्सो, इलामे, सालिम्मो, खरुकी, सिरुजस्ता घाँस भूँइ घाँस हुन् । यी घाँस हिउँदको सुख्खा समयबाहेक सधैं पलाउने गर्छन् ।

२. कोशे– अकोशे कोशे घाँस भनेको पोशिलो मानिन्छ । पौस्टिक तत्वले भरिपूर्ण कोशे घाँसमा स्टाइलो, भेच, बर्षिम, लुर्सन, बदामेजस्ता हुन् । यी घाँसमा सरदर २० प्रतिशत प्रोटिन हुन्छ । अकोशेमा सालिम्मो, सिरु, मकै, गहुँजस्ता एक दलीय बीउ भएका घाँस हुन् । यी घाँस पोशिलो मानिन्न तर कार्बोहाइड्रेडबमे श्रोत भने हुन् । यिनीहरुमा सरदर ६÷७ प्रतिशत प्रोटिन हुन्छ । हामीले घाँस खुवाउँदा कोशे एक भाग र अकोशे २ भागको दरमा खुवाउनु पर्छ ।

३. हिउँदे–वर्षे हिउँदको समयमा डालेबाहेक अन्य घाँस नहुने भएकोले हिउँदमा मात्र हुने घाँस रोप्नु पर्छ । जसमा भेच, जै, लुर्सन, बर्षिमहरु पर्छन् । जै अकोशे हो भने अरु कोशे हुन् । चिसो समयमा हुने घाँस रोप्दा मंसिरपछि बैशाखसम्म हरियो घाँसको अभाव हुन्न । यस्तै हिउँदमा नहुने वर्षा याममा मात्र हुने वर्षे घाँस हुन् । तिनमा बन्सो, सिरु, सालिम्मो, इलामे, मकै, सुडान, टिओसेण्टी पर्छन् ।

४. एक वर्षे–बहुवर्षे एक वर्षका लागिमात्र रोपिएका घाँस एक वर्षे हुन् भने एक पटक रोपेपछि धेरै वर्ष रहने बहुवर्षे घाँस हुन् । एक सिजनमा उम्रने र मर्ने, फेरि अर्को वर्षको सिजनमा उम्रने र मर्ने स्थानीयदेखि हामीले रोप्ने मकैं, बोडी, ज्वाइण्ट भेच, टिओसेण्टी, सुडान, जै, भेचहरु पर्छन् । बहुवर्षेमा स्टाइलो, ज्वाइण्ट भेच ली, बदामे, नेपियर, रोड्स, सिग्नलहरु हुन् । यी घाँस एक पटक रोपेपछि ८÷१० वर्षसम्म रोप्नु पर्दैन ।

५. उन्नत–स्थानीय उन्नत घाँसमा पोशक तत्व बढी हुन्छ । जुन थोरै खुवाउँदा पनि पशुबाट राम्रो लाभ लिन सकिन्छ । यस्ता घाँसमा स्टाइलो, भेच, बर्षिम, लुर्सन, नेपियर सुपर, नेपियर स्मार्ट, टिओसेन्टी, जैहरु हुन् । पछिल्लो समय पशुपालक कृषकहरु व्यवसायिक बन्दै गएकोले उन्नत घाँसमा सबैको ध्यान गएको पाइन्छ ।

उन्नतको तुलनामा स्थानीय घाँस कम पोशिलो हुन्छन् । स्थान विशेष र भूबनोटका आधारमा स्थानीय घाँसको पनि महत्व धेरै छ । तराई, पहाड र हिमाली भेगमा सबै प्रकारका घाँस उत्पादन गर्न नसकिने भएकोले स्थानीय घाँसकै भर पनि पर्नुपर्छ ।

यी ५ प्रकारका घाँसलाई आफ्नो जग्गामा मिलाएर लगाउन सकेको खण्डमा हामीलाई १२ महिना नै घाँसको अभाव हुन्न । अनि घाँस खेती गरिएको जग्गामा यी सबै खालका घाँस मिलाएर लगाउन सकिएको खण्डमा चौपायले खाने खोले र दानाको मात्रा कम गर्न सकिन्छ । जसले कृषकलाई प्रत्यक्ष रुपमा आर्थिक फाइदा पुग्छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *