डिजिटल बैंकिङ र क्रेडिट स्कोरमा जोड दिँदै राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सव सम्पन्न
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६१औँ वार्षिकोत्सव कार्यक्रम माननीय अर्थमन्त्री रामेश्वरप्रसाद खनालको प्रमुख आतिथ्यतामा शनिबार एक समारोहकाबीच सम्पन्न भएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खनालले ऋणीहरूको मनोविज्ञान बुझेर कर्जा विस्तार गर्नुपर्ने, ऋणीहरूको प्रोफाइलिङ गर्नुपर्ने तथा नगद कारोबारभन्दा डिजिटल कारोबारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। उहाँले धितोमा आधारित कर्जा प्रणालीभन्दा क्रेडिट स्कोरका आधारमा कर्जा प्रवाह गर्न सके उद्यमशीलता, आयआर्जन र तिर्न सक्ने क्षमतामा आधारित आर्थिक गतिविधि बढ्ने धारणा व्यक्त गर्नुभयो।
सो अवसरमा अर्थमन्त्री खनालले बैंकको ६१औँ वार्षिकोत्सवको अवसरमा प्रकाशन गरिएको विशेषाङ्क ‘स्मारिका उपहार–२०८२’ विमोचन गर्नुका साथै यस वर्ष सञ्चालनमा ल्याइएका १२ वटा शाखा कार्यालयको डिजिटल माध्यमबाट औपचारिक उद्घाटन गर्नुभयो। साथै, बैंकको नयाँ प्रडक्ट ‘आरबीबी फोन लोन’ को पनि शुभारम्भ गर्नुभयो। कार्यक्रममा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई दीर्घसेवा पदकसहित सम्मान गरिएको थियो।
कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष देवकुमार ढकालले नेपाल सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्यलाई टेवा पुग्ने गरी बैंकिङ सेवाको विस्तार गर्दै उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखी कर्जा प्रवाह गरिरहेको जानकारी दिनुभयो।
त्यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकको वर्तमान अवस्था र भावी योजनाबारे जानकारी गराउँदै युवा पुस्ताको भावना अनुरूप मुलुक र जनताको हितमा अग्रसर हुनु बैंकको प्रमुख दायित्व रहेको बताउनुभयो। उहाँले प्रविधिमा आधारित बैंकिङ सेवालाई आत्मसात गर्दै डिजिटल बैंकिङलाई प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिँदै नेपाल क्लियरिङ हाउस लिमिटेडद्वारा आर्थिक वर्ष २०८०र८१ मा सबैभन्दा बढी क्यूआर मर्चेन्ट कारोबार गर्ने तथा डिजिटल सरकारी कारोबार गर्ने बैंकका रूपमा राष्ट्रिय वाणिज्य बैंक पुरस्कृत भएको उल्लेख गर्नुभयो।
कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका अध्यक्ष रबिन्द्रप्रसाद चौलागाईं, नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका अध्यक्ष सुदिन केसी तथा राष्ट्रिय वाणिज्य बैंक नेपाल राष्ट्रिय कर्मचारी संगठनका कार्यवाहक अध्यक्ष चुडामणि गुप्ताले कर्मचारीको हकहित तथा बैंकको समग्र विकासका विषयमा आफ्ना धारणा राख्दै शुभकामना व्यक्त गर्नुभयो।
समारोहमा बैंक सञ्चालक समितिका सदस्यहरू थानप्रसाद पंज्ञानी, स्वतन्त्र सञ्चालक लक्ष्मण घिमिरे, प्रा.डा. रामप्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती, हरिकुमार सिलवाल, नायब प्रमुख कार्यकारी अधिकृतद्वय सरस्वती अधिकारी र देवेशप्रसाद लोहनी, उपकार्यकारी अधिकृतहरू पवन रेग्मी, विनयरमण पौडेल, दुर्गाकुमारी कंडेल, रामकुमार थापा, विभागीय प्रमुख, शाखा प्रबन्धक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
यसअघि वार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय, प्रादेशिक तथा शाखा कार्यालयहरूको आयोजनामा रक्तदान, स्वास्थ्य शिविर, विविध खेलकुद कार्यक्रम तथा ७७ वटै जिल्लामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको बैंकले जनाएको छ।
वि.सं. २०२२ साल माघ १० गते स्थापना भएको राष्ट्रिय वाणिज्य बैंक हाल ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित ३१३ वटा शाखा, ७१ वटा एक्सटेन्सन काउन्टर, ३२२ वटा एटिएम तथा ९९ वटा शाखारहित बैंकिङ सेवामार्फत ४७ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ। बैंकले १९ लाख ७० हजारभन्दा बढी ग्राहकलाई मोबाइल बैंकिङ तथा करिब १ लाख ४७ हजार क्यूआर मर्चेन्ट सेवा प्रदान गरिरहेको छ।

