मुलुकको अवस्था बदल्ने साँचो मधेससँग छ : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले अब संसदको ५ वर्ष समयलाई कांग्रेसले सदुपयोग गर्ने बताएका छन्।
सर्लाही ४ मा आज भएको चुनावी कार्यक्रममा बोल्दै सभापति थापाले संसदको ५ वर्षे समयलाई पार्टीले सदुपयोग गर्ने बताए। ‘५ वर्षको संसदको समय अब नेपालले खेर फाल्न सक्दैन। यो नेपालको आर्थिक प्रगति, कृषि, रोजगारी, शिक्षा, स्वास्थ्यको अवस्था बदल्ने समय हुनुपर्छ,’ सभापति थापाले भने, ‘त्यसका लागि सबैभन्दा ठूलो तागत कांग्रेस मधेसबाट प्राप्त गर्न चाहन्छ।’
उनले मधेस कांग्रेसको जन्मभूमि रहेको र यही भूमिले पार्टीलाई हुर्काएको र सम्हालेको पनि बताए।
यसबीचमा पार्टीले गरेका गल्ती तथा कमजोरीलाई सच्याउने संकल्पसहित आफूहरू मधेस आएको पनि थापाले बताए।
‘मधेसले कांग्रेसलाई सधैं न्याय गर्यो तर कांग्रेसले मधेसलाई दिनुपर्ने सम्मान, प्रतिनिधित्व, न्याय र अधिकारका सवालमा कमजोरी भएका छन्,’ उनले भने। सभापति थापा सर्लाही ४ बाट उम्मेदवार छन्।
उनले सर्लाहीका ४ वटै र मधेसका ३२ वटै निर्वाचन क्षेत्रबाट कांग्रेसलाई साथ तथा समर्थन चाहिएको बताए।
‘त्यो जिम्मेवारी लिएर गएर नेपाली कांग्रेसले यो ५ वर्ष सिंगो देशको र त्यसभित्र मधेसको सेवा गर्ने आफ्नो कर्तव्य पूरा गर्छ, यो संकल्प लिएर हामी आएका छौं,’ सभापति थापाले भने।
